काठमाडौं । सामाजिक सञ्जालबाट वेश्यागमनको प्रचार तथा प्रसार गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
शनिबार पाँचथरको फिदिम नगरपालिका–३ घर भई काठमाडौं महानगरपालिका–२६ बसपार्क क्षेत्रमा बस्दै आएका २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् ।
सामाजिक सञ्जालमार्फत वेश्यागमनको प्रचार तथा प्रसार हुने प्रकृतिको पोस्ट गरिएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको टोलीले उनको खोजी थालेको थियो ।
लामाले सामाजिक सञ्जालबाट युवती तथा महिलालाई यौनकार्यमा लगाउने भन्दै प्रचार गर्ने गरेका थिए । उनले २० वर्षदेखि माथिका युवतीलाई मूल्यसमेत तोकेर सामाजिक सञ्जालमा उल्लेख गर्ने गरेका थिए।
काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार खोजतलासका क्रममा लामालाई नयाँ बसपार्क क्षेत्रबाट हुलिया परिवर्तन गरी हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
प्रहरीले लामाविरुद्ध वेश्यागमनको प्रचार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाएको परिसरका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार सामाजिक सञ्जालबाट महिला तथा युवतीलाई यौनजन्य क्रियाकलापमा लागउन लामाले उकास्नेसमेत गर्ने गरेका थिए ।
उनीमाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सामाजिक सञ्जाललाई आपत्तिजनक तथा गैरकानुनी गतिविधिको प्रचार–प्रसारमा प्रयोग गरेको पाइएमा कानुनी कारबाही हुने भन्दै प्रहरीले यस्ता गतिविधिमाथि निगरानी बढाएको जनाएको छ ।