काठमाडौं । नेपालगञ्ज नागरिक उड्डयन कार्यालयले नेपालगञ्ज विमानस्थलको टर्मिनल भवन तथा भि.ओ.आर./डि.एम.ई. परिसरमा विभिन्न सेवा सञ्चालनका लागि सात वटा स्थान पाँच वर्षका लागि भाडामा दिने भएको छ । कार्यालयले विभिन्न प्रयोजनका लागि छुट्याइएका स्थानको न्यूनतम भाडा रकमसमेत निर्धारण गरी बोलपत्र आह्वान गरेको छ ।
कार्यालयका अनुसार विमानस्थलको ‘बी’ ब्लकको पहिलो तलामा रहेको पसल नम्बर ३ मा कन्फेक्शनरी सामाग्री बिक्रीका लागि ३७.१२ वर्गमिटर क्षेत्रफल छुट्याइएको छ । उक्त स्थानको पाँच वर्षको न्यूनतम भाडा १३ लाख २९ हजार ६३८ रुपैयाँ ४० पैसा तोकिएको छ ।
यस्तै, सोही ब्लकको पहिलो तलामा रहेको पसल नम्बर ७ मा ह्याण्डिक्राफ्ट, गिफ्ट एण्ड अन्य सामाग्री बिक्रीका लागि ३७.१२ वर्गमिटर क्षेत्रफल उपलब्ध गराइनेछ । उक्त स्थानको पाँच वर्षको न्यूनतम भाडा पनि १३ लाख २९ हजार ६३८ रुपैयाँ निर्धारण गरिएको छ ।
पसल नम्बर ८ मा कन्फेक्शनरी सामग्री बिक्री केन्द्र सञ्चालनका लागि २६.९७ वर्गमिटर क्षेत्रफल छुट्याइएको छ । उक्त स्थानको पाँच वर्षको न्यूनतम भाडा ९ लाख ६६ हजार ६५ रुपैयाँ तोकिएको छ ।
यसैगरी, ‘बी’ ब्लकको पहिलो तलामा ३५०.५४ वर्गमिटर क्षेत्रफलमा रेस्टुरेन्ट सञ्चालनका लागि स्थान भाडामा दिइनेछ । उक्त स्थानको पाँच वर्षको न्यूनतम भाडा २ करोड १० लाख ८४ हजार ८० रुपैयाँ निर्धारण गरिएको छ ।
‘ए’ ब्लकको पहिलो तलामा ९९.९० वर्गमिटर क्षेत्रफलमा क्याफे सञ्चालनका लागि स्थान उपलब्ध गराइनेछ । त्यसका लागि पाँच वर्षको न्यूनतम भाडा ६० लाख ३ हजार ५९० रुपैयाँ पैसा तोकिएको छ ।
त्यस्तै, ‘सी’ ब्लकको भुइँ तलामा रहेको ५.५३ वर्गमिटर क्षेत्रफलको स्थान कन्फेक्शनरी सामग्री बिक्री केन्द्र सञ्चालनका लागि भाडामा दिइनेछ । उक्त स्थानको पाँच वर्षको न्यूनतम भाडा ४ लाख ९९ हजार ८५१ रुपैयाँ तोकिएको छ ।
यसैगरी, विमानस्थलको भि.ओ.आर./डि.एम.ई. परिसरमा करिब ४५ बिघा जग्गा कृषि कार्यका लागि भाडामा दिइनेछ । उक्त जग्गामा कृषि गतिविधि सञ्चालन गर्न इच्छुक व्यवसायी, फर्म, कम्पनी तथा संस्थाबाट बोलपत्र माग गरिएको छ । उक्त जग्गाको पाँच वर्षको न्यूनतम भाडा १ करोड ५ लाख ६० हजार रुपैयाँ निर्धारण गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयले सम्बन्धित स्थानमा सेवा सञ्चालन गर्न इच्छुक तथा कारोबारको इजाजत प्राप्त र करमा दर्ता भएका फर्म, कम्पनी तथा संस्थाबाट बोलपत्र माग गरेको हो ।