बाढीपछिको अवस्था बुझ्न प्रधानमन्त्री शाहको सुरक्षा प्रमुखसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बाढीपछिको खोज, उद्धार, राहत तथा उपचारलगायतका विषयमा तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न परिस्थितिबारे विस्तृत जानकारी लिन तथा आवश्यक निर्देशन दिन प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग छलफल थालेका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेका छन् ।

प्रधानसेनापति सिग्देलसँगको छलफलपछि प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि आजै छलफल गर्ने कार्यक्रम रहेको छ ।

छलफलमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, घाइतेको उपचार, सुरक्षा परिचालन र आगामी दिनमा गर्नुपर्ने आवश्यक कामबारे प्रधानमन्त्रीले सुरक्षा प्रमुखबाट जानकारी लिने बताइएको छ ।
 

Share News