काठमाडौं । समाज कल्याण परिषद्ले बाढी पीडितको अनुमति बिना फोटो, भिडियो तथा श्रव्य-दृश्य सामग्री सार्वजनिक नगर्न आग्रह गरेको छ ।
पीडितहरूको फोटो खिचेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालका प्लेटफर्ममार्फत सार्वजनिक गर्ने क्रम बढेको भन्दै परिषद्ले आपत्ति जनाएको छ ।
परिषद्ले विज्ञप्ति जारी गर्दै राहत तथा मानवीय सामग्री वितरण गर्दा राहत सामग्री वितरणसम्बन्धी आचारसंहिता पूर्ण रूपमा पालना गर्न तथा पीडितको पीडा थपिने गरी उनीहरूको अनुमति बिना फोटो, भिडियो नखिच्न आग्रह गरेको छ ।
त्यसैगरी, राहत वितरणका क्रममा धार्मिक वा व्यावसायिक प्रकृतिका फोटो, लोगो, अन्य संकेत तथा प्रचारात्मक सामग्री नराख्न, प्रकाशन तथा प्रसारण नगर्न–नगराउन सामाजिक संघसंस्था,स्वयंसेवी संस्था, व्यक्ति तथा सम्बन्धित सबैलाई परिषद्ले अनुरोध गरेको छ ।
परिषद्ले प्रचारात्मक सामग्री राख्ने तथा पीडितको फोटो–भिडियो खिच्ने कार्य अझै जारी रहेको पाइएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न विज्ञप्ति जारी गरेर आग्रह गरेको छ ।
परिषद्ले विपद्को समयमा पीडित नागरिकलाई राहत र मानवीय सहयोग उपलब्ध गराउनुका साथै उनीहरूको सम्मान, गोपनीयता र मानवीय संवेदनशीलताको समेत संरक्षण गर्न जोड दिएको छ ।
भदौँ १० गते रसुवामा आएको बाढील रसुवा, नुवाकोट र धादिङमा जनधनको क्षति गरेको छ। बाढी प्रभावित क्षेत्रका स्थानीयलाई विभिन्न व्यक्ति तथा संघ-संस्थाले सहयोग गरिरहेका छन् ।