काठमाडौं । ठमेलको गेष्टहाउसमा बसेर गैरकानुनी काम गर्ने दश जना बंगलादेशी नागरिक पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका २६ स्थित ठमेल एरियामा रहेका होटल गेष्टहाउसहरुमा विदेशी नागरिकहरू गैरकानूनी रुपमा बसोबास गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीले बंगलादेशी नागरिकलाई नियन्त्रणमा लिएको हो ।
बङ्गलादेशको गाजीपुर, पुलिस स्टेशन गदबपुर घर भई ठमेल बस्ने ४६ वर्षीय फहिमा अक्तार हसन, ४८ वर्षीय महामुद, ४५ वर्षीय महबूब हसन, ४९ वर्षीय रेपोन मेहमूद, ३० वर्षीय एमडी–केरामोत अलीखान, ३० वर्षीय साहिदुर रहमान, ५० वर्षीय एमडी खलिलुर रहमान, २८ वर्षीय आरिफुर रहमान, ४२ वर्षीय एमडी मारुफ मृधा र ६४ वर्षीय मोहम्मद हनिफ मियाँ छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काका अनुसार बंगलादेशीहरू भिसाको म्याद सकेर बसेका छन् । बंगलादेशमा अपराध गरेर तथा नेपाल बसेका र नेपालमा शरण लिनका लागि कागजपत्र बनाउन बसेकाहरू छन् ।
प्रहरीले उनीहरूलाई होटल ढाका एक्सप्रेस, होटल डि भेढा र होटल अलरहमानलगायतका स्थानबाट नियन्त्रणमा लिइएको जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ।