काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले रसुवा, नुवाकोट, धादिङलगायत बाढी प्रभावित समुदायको राहत र पुनःस्थापनाका लागि ६ करोड रुपैयाँभन्दा बढी सहयोग गरेको छ ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ योगदान गरेको जनाएको छ । साथै, बाढी प्रभावित क्षेत्रमा वितरणका लागि करिब १ करोड रुपैयाँ बराबरका २६ टन स्वास्थ्य र सरसफाइ सामग्री पनि उपलब्ध गराएको छ ।
युनिलिभरका अनुसार बाढीपछि फैलिन सक्ने संक्रमण र सरसफाइसम्बन्धी जोखिमलाई ध्यानमा राख्दै लाइफबोय, लक्स, सनसिल्क, क्लोजअप, भिम र रिनलगायत दैनिक प्रयोग हुने सामग्री प्रभावित परिवारसम्म पुर्याइनेछ ।
कम्पनीका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले विपद्को कठिन समयमा सबैभन्दा बढी प्रभावित समुदायसँग ऐक्यबद्ध भएर सहयोग गर्नु आवश्यक रहेको बताए । राहत र पुनःस्थापनाको यात्रामा प्रभावित परिवारलाई साथ दिने उद्देश्यले सहयोग गरिएको उनले उल्लेख गरे ।
युनिलिभर नेपालले स्वास्थ्य, सरसफाइ र सामाजिक कल्याणका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउँदै बाढी प्रभावित समुदायको पुनःस्थापना र कल्याणमा योगदान पुर्याउने प्रतिबद्धता दोहोर्याएको छ ।