कांग्रेसको १५औं महाधिवेशन भृकुटीमण्डपमा हुने

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा गर्ने भएको छ ।

महाधिवेशनका लागि असोज १६ देखि २० गतेसम्म हल, बगैंचा, पार्किङ स्थल बुकिङ गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका हुन् ।

‘राष्ट्रिय सभागृह प्रदर्शनीमार्गमा पत्र पठाएर प्रदर्शनी हल, पार्किङ स्थल र बगैंचा बुकिङको प्रक्रिया थालेका हौं,’ दुलालले भने । 

कांग्रेस महाधिवेशन असोज १६ देखि १९ गतेसम्म चल्नेछ । कांग्रेसले भदौ २४ गतेदेखि वडा अधिवेशन गर्नेगरी यसअघि कार्यतालिका ल्याएको थियो । 

वडा अधिवेशनको  मिति सार्न आज सानेपामा निर्वाचन समितिको बैठक चलिरहेको छ ।

कांग्रेसले पूर्वनिर्धारित केन्द्रीय महाधिवेशन कार्यतालिकालाई सोही अवधिमा गर्नेगरी तल्ला तहका अधिवेशन कार्यतालिका संशोधन गर्न लागेको हो ।

गत पुसमा कांग्रेसले विशेष महाधिवेशन भृकुटीमण्डपबाट सम्पन्न गरेको थियो ।

Share News