काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित चिलिमे क्षेत्रमा आएको भीषण बाढी र प्राकृतिक विपत्तिले चिलिमे जलविद्युत कम्पनीका आयोजनामा ठूलो क्षति पुगेको छ । कम्पनीले बाढीपछि उद्धार तथा पूर्वाधार पुनर्स्थापनामा सहयोग गर्न सबै सरोकारवालासँग आग्रह गरेको छ ।
कम्पनीका अनुसार २२.१ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको विद्युतगृह र सुरुङ क्षेत्रमा कार्यरत ६ जना कर्मचारी अझै सम्पर्कविहीन छन् । उनीहरूको खोजी तथा उद्धारका लागि प्रयास जारी रहेको कम्पनीले जनाएको छ ।
बाढीका कारण चिलिमे जलविद्युत केन्द्रको विद्युतगृह पूर्णरूपमा क्षतिग्रस्त भएको छ । आयोजनाको विद्युत उत्पादन तत्काल सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको कम्पनीले जनाएको छ ।
त्यस्तै, चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा स्थापना भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना पनि बाढीबाट पूर्णरूपमा क्षतिग्रस्त भएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार विपत्तिका कारण सडक, विद्युत, सञ्चार सेवा, स्थानीय बस्ती तथा अन्य सार्वजनिक पूर्वाधारमा गम्भीर क्षति पुगेको छ । आवतजावत र सञ्चार सम्पर्क अवरुद्ध हुँदा उद्धार तथा राहत कार्य सञ्चालन गर्नसमेत कठिनाइ भएको जनाएको छ ।
कम्पनी व्यवस्थापनले सम्पर्कविहीन कर्मचारीको उद्धार, विद्युत सेवा पुनःस्थापना तथा सडकलगायत पूर्वाधारको मर्मत–सम्भारका लागि अधिकतम प्रयास भइरहेको उल्लेख गर्दै सम्बन्धित सरकारी निकाय र सरोकारवालासँग आवश्यक सहयोगको अपिल गरेको छ ।