काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले बाढी पीडितलाई राहत सहयोग उपलब्ध गराउने भएको छ ।
बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा असर गरेको छ ।
शनिवार नक्सालस्थित नाटाको केन्द्रीय कार्यालयबाट अत्यावश्यक राहत सामग्रीसहित नुवाकोटको बट्टारतर्फ राहत सामग्री लिएर गएको छ ।
नाट्टाको टोलीले प्रभावित परिवारका लागि आवश्यक कपडा, खाद्यान्न, खानेपानी, स्वास्थ्य तथा सरसफाइ सामग्रीलगायत अन्य आवश्यक सामग्री सहयोग गर्ने जनाएको छ ।
मानवीय अभियानमा सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाहरूलाई नक्सालस्थित नाट्टा सचिवालयमा उपयोगी राहत सामग्री उपलब्ध गराउन नाट्टाले अनुरोध गरेको छ ।
नाट्टाले ठूलो वा सानो जुनसुकै सहयोगले पनि कठिन परिस्थितिमा रहेका प्रभावित परिवारलाई राहत, आशा र आवश्यक सहयोग प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ।
‘एकआपसमा साथ दिऔँ, सहयोग गरौँ र आवश्यकतामा रहेका परिवारका लागि हातेमालो गरौँ’ भन्ने भावनाका साथ राहत अभियानमा सहभागी हुन नाट्टाले सबैलाई आव्हान गरेको छ ।