फिस्टुला उपचारले फर्काउँदै महिलाको आत्मसम्मान

वर्षौंदेखि पिसाब चुहिने समस्या बोकेर बाँचिरहेकी एउटी महिलाको पीडा कल्पना गर्न सहज छैन । घरभित्रै बस्दा असहजता, बाहिर निस्कँदा लज्जा, अरूको अगाडि पर्दा अपमानको डर र आफ्नै परिवारसँग बस्दा पनि संकोच—फिस्टुलाले महिलाको जीवनलाई यसरी साँघुरो बनाइदिन सक्छ ।

कतिपय महिला यही पीडा बोकेर वर्षौं बिताउँछन्। कसैलाई आफ्नो समस्याको उपचार सम्भव छ भन्ने थाहा हुँदैन । कतिपय सामाजिक लाज र कलंकका कारण समस्या लुकाउँछन् भने केही आर्थिक अभावका कारण उपचारको पहुँचमा पुग्न सक्दैनन् ।

यस्ता महिलाका लागि काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सुरु भएको निःशुल्क फिस्टुला उपचार सेवा नयाँ आशाको ढोका बनेको छ ।

नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहकार्यमा अस्पतालले निःशुल्क प्रसूति फिस्टुला उपचार तथा शल्यक्रिया सेवा सञ्चालन गरिरहेको छ । अस्पतालले गत वर्षदेखि निःशुल्क फिस्टुला शल्यक्रिया सेवा सुरु गरेको हो ।

देशकै प्रमुख सरकारी प्रसूति तथा स्त्रीरोग केन्द्रमध्ये एक रहेको यस अस्पतालमा फिस्टुलाका लागि समर्पित उपचार सेवा विस्तार हुनु वर्षौंदेखि उपचारको खोजीमा रहेका महिलाका लागि महत्त्वपूर्ण कदम हो ।

प्रसूति फिस्टुला लामो समयसम्म उपचार नपाएको कठिन तथा अवरुद्ध प्रसवका कारण प्रसूति मार्ग र मूत्राशय वा मलाशयबीच अस्वाभाविक प्वाल बन्ने अवस्था हो ।

मूत्राशय र योनीबीच प्वाल बनेमा त्यसलाई भेसिकोभेजाइनल फिस्टुला भनिन्छ भने मलाशय र योनीबीच प्वाल बनेमा रेक्टोभेजाइनल फिस्टुला भनिन्छ ।

यसको प्रमुख लक्षण अनियन्त्रित रूपमा पिसाब वा दिसा चुहिनु हो । लगातार पिसाब चुहिँदा छालामा घाउ, संक्रमण र दुर्गन्धजस्ता समस्या देखिन सक्छन् । तर यसको असर शारीरिक समस्यामा मात्र सीमित हुँदैन ।

फिस्टुलाले महिलाको मानसिक स्वास्थ्य, आत्मविश्वास, पारिवारिक सम्बन्ध, सामाजिक सहभागिता र आर्थिक जीवनमा समेत गम्भीर असर पार्न सक्छ । कतिपय महिला सामाजिक बहिष्कारको समेत सामना गर्न बाध्य हुन्छन् ।

त्यसैले फिस्टुला सामान्य स्वास्थ्य समस्या मात्र होइन। यो महिलाको स्वास्थ्यसँगै सम्मान, आत्मसम्मान र मानवअधिकारसँग जोडिएको विषय हो । अझ महत्त्वपूर्ण कुरा फिस्टुलाको उपचार सम्भव छ भन्ने सन्देश प्रत्येक महिलासम्म पुर्याउनु आवश्यक छ ।

प्रसूति फिस्टुलाको प्रमुख कारण लामो समयसम्म उपचार नपाएको अवरुद्ध प्रसव हो । आमाको श्रोणी र शिशुको टाउकोबीच असमानता हुनु, समयमै स्वास्थ्य संस्थामा पुग्न नसक्नु, आकस्मिक प्रसूति सेवा उपलब्ध नहुनु तथा आवश्यक पर्दा समयमै सिजेरियन शल्यक्रिया हुन नसक्दा फिस्टुलाको जोखिम बढ्छ ।

किशोरावस्थामै गर्भधारण हुनु पनि फिस्टुलाको जोखिम बढाउने अवस्थामध्ये एक हो ।

तर फिस्टुला प्रसवका कारण मात्र हुँदैन। शल्यक्रियाका क्रममा मूत्राशय वा मूत्रनलीमा चोट लाग्दा पनि फिस्टुला हुन सक्छ । गर्भाशय हटाउने शल्यक्रिया, पेल्भिक ट्युमरको शल्यक्रिया, पटक–पटक गरिएका पेल्भिक शल्यक्रिया वा रेडिएसन उपचारपछि पनि फिस्टुला देखिन सक्छ ।

यस्तो अवस्थामा शल्यक्रियापछि केही दिनदेखि केही हप्ताभित्र असामान्य रूपमा पिसाब चुहिने समस्या देखिन सक्छ ।

नेपालमा प्रसूति फिस्टुला लामो समयसम्म स्वास्थ्य प्रणालीको ओझेलमा परेको समस्या थियो ।

सन् २०११ मा नेपाल सरकार, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष र ओरेक नेपालले गरेको अध्ययनले नेपालमा प्रत्येक वर्ष करिब २०० देखि ४०० नयाँ प्रसूति फिस्टुलाका घटना हुने र करिब ४ हजार ३०० महिलामा उपचार नभएको फिस्टुला हुन सक्ने अनुमान गरेको थियो ।

पछिल्ला वर्षमा उपचार सेवाको विस्तार भए पनि समस्या पूर्ण रूपमा अन्त्य भएको छैन । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको पछिल्लो प्रोफाइलअनुसार नेपालमा बर्सेनि करिब २०० देखि ३०० महिलाले फिस्टुलाको उपचार प्राप्त गरिरहेका छन्। अझै करिब ४ हजार ३६२ महिलालाई उपचार तथा हेरचाह आवश्यक रहेको अनुमान गरिएको छ ।

यी तथ्यांक केवल संख्या होइनन् । प्रत्येक संख्याको पछाडि एउटी महिला र उनको जीवनसँग जोडिएको पीडा छ ।

कतिपय महिला वर्षौंदेखि समस्या लुकाएर बसिरहेका छन् । कतिपयलाई उपचार सम्भव छ भन्ने जानकारी छैन । सामाजिक लाज, कलंक, आर्थिक कठिनाइ र स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने अवस्थाले उनीहरूलाई उपचारबाट टाढा राखेको छ ।

त्यसैले फिस्टुलाको उपचारसँगै यसको पहिचान, जनचेतना, समुदायस्तरीय खोजी, स्वास्थ्य संस्थामा रेफरल र सामाजिक पुनःएकीकरण पनि उत्तिकै आवश्यक छ ।

फिस्टुलाको उपचार बिरामीको अवस्था र फिस्टुलाको प्रकारअनुसार फरक हुन्छ । उपचारअघि विस्तृत मूल्याङ्कन र आवश्यक तयारी गरिन्छ । 

त्यसपछि फिस्टुला मर्मत शल्यक्रिया, शल्यक्रियापछिको हेरचाह, क्याथेटर व्यवस्थापन, संक्रमणको उपचार, परामर्श तथा पुनःस्थापना उपचार आवश्यक पर्न सक्छ ।

पुरानो, जटिल वा पुनःशल्यक्रिया आवश्यक पर्ने फिस्टुलाका बिरामीको उपचारमा चिकित्सकको अनुभव र विशेषज्ञता अझ महत्त्वपूर्ण हुन्छ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा फिस्टुला सेवामा संलग्न चिकित्सकहरूले फिस्टुला उपचारमा विशेषज्ञता हासिल गरेका केन्द्रबाट आवश्यक तालिम तथा व्यावहारिक अनुभव प्राप्त गरेका छन् । 

यसले नेपालमै जटिल फिस्टुलाको उपचार क्षमता विस्तार गर्न र भविष्यमा थप स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न आधार तयार गरेको छ ।

उपचारको सफलता केवल पिसाब चुहिन बन्द हुनुमा सीमित हुँदैन ।

उपचारपछि एउटी महिला फेरि निर्धक्क भएर घरबाहिर निस्कन सक्छिन् । परिवारसँग सहज रूपमा बस्न सक्छिन् । काममा फर्किन सक्छिन्। समाजसँग पुनः जोडिन सक्छिन्। सबैभन्दा महत्वपूर्ण कुरा, उनले आफूलाई फेरि सम्मानका साथ हेर्न सक्छिन् ।

फिस्टुलाको उपचार सम्भव छ । तर फिस्टुला हुन नदिनु अझ महत्वपूर्ण हुन्छ।

प्रत्येक महिलाले गुणस्तरीय गर्भावस्था तथा प्रसूति सेवा पाउनु आवश्यक छ । दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति, समयमै जोखिम पहिचान, आवश्यक परे आकस्मिक रेफरल र सिजेरियन सेवा उपलब्ध गराउनु फिस्टुला रोकथामका प्रमुख आधार हुन् ।

नेपालमा प्रसूति फिस्टुलाको रोकथाम, पहिचान, उपचार तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि सरकार, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषलगायत साझेदार संस्थाले लामो समयदेखि काम गर्दै आएका छन् ।

सन् २०११ मा नेपाल सरकार, राष्ट्रसंघीय जनसंख्या कोष र ओरेक नेपालले गरेको अध्ययनले नेपालमा प्रत्येक वर्ष करिब २०० देखि ४०० नयाँ प्रसूति फिस्टुलाका घटना हुने र करिब ४ हजार ३०० महिलामा उपचार नभएको फिस्टुला हुन सक्ने अनुमान गरेको थियो ।

नेपालले सन् २०३० सम्म प्रसूति फिस्टुला अन्त्य गर्ने लक्ष्यसहित रोकथाम, उपचार, पुनःस्थापना र सामाजिक पुनःएकीकरणलाई प्राथमिकतामा राखेर काम अघि बढाइरहेको छ ।

फिस्टुलासम्बन्धी सन्देश हरेक महिलासम्म पुग्न आवश्यक छ ।

पिसाब वा दिसा अनियन्त्रित रूपमा चुहिनु सामान्य होइन ।  यो लुकाउनुपर्ने समस्या पनि होइन । यसको उपचार सम्भव छ ।

प्रसूतिको क्रममा चोट लागेपछि लामो समयदेखि पिसाब वा दिसा चुहिने समस्या भइरहेको छ भने लाज मान्नुपर्ने कुनै कारण छैन । नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी विशेषज्ञ उपचारका लागि रेफर हुनुपर्छ ।

फिस्टुलाका कारण वर्षौंदेखि एक्लिएर बाँचेकी एउटी महिलाका लागि उपचारको अर्थ केवल रोग निको हुनु होइन । त्यो परिवारमा फर्किने अवसर हो। समाजमा पुनःउभिने साहस हो । आत्मविश्वास पुनःप्राप्त गर्ने बाटो हो ।

त्यसैले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सुरु भएको निःशुल्क फिस्टुला उपचार सेवा एउटा स्वास्थ्य सेवा मात्र होइन, वर्षौंदेखि मौन पीडा बोकेका महिलाका लागि आशाको ढोका पनि हो ।

फिस्टुला उपचारले एउटी महिलालाई केवल पीडाबाट मुक्त गर्दैन । यसले उनलाई आफ्नो जीवन पुनःनिर्माण गर्ने अवसर दिन्छ । पिसाब चुहिन बन्द हुनु उपचारको परिणाम हो, तर आत्मविश्वास फर्किनु यसको वास्तविक उपलब्धि हो ।

वर्षौंदेखि लुकाएर राखिएको पीडा उपचारपछि मुस्कानमा बदलिन सक्छ । परिवारबाट टाढिएकी महिला फेरि आफ्ना मान्छेसँग जोडिन सक्छिन् । समाजबाट अलग भएकी महिला फेरि समाजकै हिस्सा बन्न सक्छिन् ।

त्यसैले फिस्टुला उपचार एउटा शल्यक्रिया मात्र होइन । यो पीडाबाट मुक्ति हो । यो आत्मसम्मानको पुनःस्थापना हो । यो सम्मानपूर्वक बाँच्ने अधिकारको पुनःप्राप्ति हो । र धेरै महिलाका लागि वास्तवमै नयाँ जीवनको सुरुवात हो ।

फिस्टुलासँग सम्बन्धित समस्या भोगिरहेका महिलाले लाज नमानी नजिकको स्वास्थ्य संस्था वा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सम्पर्क गरी आवश्यक उपचार तथा विशेषज्ञ सेवाका लागि जानकारी लिन सकिन्छ ।(डा. अधिकारी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हुन् ।)

Share News