काठमाडौं । नेपाल जन–प्रशासन संघले धुलिखेल अस्पतालका संस्थापक एवं वरिष्ठ चिकित्सक डा. रामकण्ठ माकजु श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान पुरस्कार २०८१’ बाट सम्मान गरेको छ । काठमाडौंमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले डा. श्रेष्ठलाई सो सम्मान प्रदान गरेका हुन् ।
सम्मान ग्रहण गर्दै डा. श्रेष्ठले यो पुरस्कार आफ्नो व्यक्तिगत उपलब्धि मात्र नभएर इमान्दारीपूर्वक गरिएको काम र सेवाप्रतिको समर्पणको कदर भएको बताए । यसले आफूलाई भविष्यमा अझ जिम्मेवार भएर अघि बढ्ने ऊर्जा थपेको उनको भनाई थियो ।
विगत ३० वर्षदेखि सानो कर्मथलोमा निरन्तर सेवामा समर्पित डा. श्रेष्ठले नेतृत्वलाई एउटा सिर्जनात्मक कार्यको रूपमा व्याख्या गरेका छन् । ‘नेतृत्व भनेको आवश्यकता भएको तर केही पनि नरहेको ठाउँमा उभिएर एउटा सुन्दर सपना देख्नु र त्यसलाई विपनामा परिणत गर्नु गर्नु हो,’ उनले भने ।
एउटा सानो टोलीबाट सानो डाँडामा सुरु भएको अस्पताललाई आज झण्डै १७ सय कर्मचारीहरू कार्यरत रहेको उत्कृष्ट संस्थाका रूपमा स्थापित गर्न सफल भएको उनले बताए ।
साथै काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा विगत २५ वर्षभित्र २० हजार युवाहरूलाई विभिन्न स्वास्थ्य विधामा शिक्षित एवं प्रशिक्षित गराउन सफल भएको पनि उनले प्रस्तुत गरे ।
दिगो संस्था निर्माण र सकारात्मक दृष्टिकोणको आवश्यकता औंल्याउँदै डा. श्रेष्ठले नेतृत्व र व्यवस्थापनमा कमजोरी खोज्नुभन्दा सबल पक्षलाई उजागर गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
नेपाल कडा परिश्रम गर्ने हिम्मत भएका मानिसहरूको देश भएको उल्लेख गर्दै उनले मुलुकको मुख्य समस्या व्यक्ति वा समुदायमा नभई अनुकरण गर्न मिल्ने बलिया संस्थाहरू निर्माण गर्न नसक्नुमा रहेको औंल्याएका छन् ।
‘हाम्रो देशमा सयौं वर्षसम्म टिकिरहने संस्थाहरू एकदमै थोरै छन्, त्यसैले अबको प्रयास सिक्न र सिकाउन सकिने दिगो संस्थाहरूको सिर्जना गर्नुतर्फ केन्द्रित हुनुपर्दछ,’ डा. श्रेष्ठले भने ।