‘हेमबहादुर मल्ल सम्मान’ मकाजु र खनाललाई प्रदान

काठमाडौं । नेपाल जन–प्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका दुईजनालाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरेको छ।

सोमबार (आज) काठमाडौंमा एक कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले दुईजनालाई सम्मान प्रदान गरे । 

साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडको आर्थिक सहयोगमा यो सम्मान प्रदान गर्दै आएको छ । 

‘हेमबहादुर मल्ल सम्मान पुरस्कार’ २०८१ नेपालकै उत्कृष्ट नमूना अस्पतालका रूपमा स्थापित धुलिखेल अस्पतालको चिकित्सक डा. रामकण्ठ माकाजु श्रेष्ठलाई प्रदान गरिएको छ । 

अस्पतालको स्थापना तथा सञ्चालनलगायत गुणस्तरीय सार्वजनिक सेवाको श्रीवृद्विमा पुर्याएको विशिष्ट योगदानको कदरस्वरूप श्रेष्ठलाई प्रदान गरेको हो ।

त्यसैगरी, ‘हेमबहादुर मल्ल सम्मान २०८२’ पूर्वअर्थसचिव तथा पूर्वअर्थमन्त्री डा. रामेश्वर प्रसाद खनाललाई प्रदान गरेको छ । 

सार्वजनिक प्रशासन तथा सार्वजनिक सेवाको श्रीबृद्वि,सार्वजनिक जिम्मेवारीमा रहँदा नीति, प्रशासन तथा सार्वजनिक सेवाका क्षेत्रमा उनले निर्वाह गरेको भूमिका र योगदानलाई सम्मान गर्दै सम्मान गरेको हो । दुवैजनाले सम्मानस्वरुप २ लाख रूपैयाँ पुरस्कार र कदरपत्र प्राप्त गरेका छन् ।

पुरस्कार छनोट समिति पूर्वसचिव कृष्ण ज्ञवालीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरी विभिन्न मापदण्ड र आधारमा सम्मानित व्यक्ति छनोट गरिएको थियो । 

नेपाल जन–प्रशासन संघले विसं २०६० देखि सार्वजनिक प्रशासन, व्यवस्थापन, सार्वजनिक वितरण, सार्वजनिक सेवा तथा जनसरोकारका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गर्दै आएको छ ।

स्वर्गीय हेमबहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेसनको नेतृत्वमा रहेर सार्वजनिक वितरण, सेवा तथा व्यवस्थापनका क्षेत्रमा पुर्याएको योगदानको स्मरण स्वरूप साल्ट ट्रेडिङ कर्पोरेसनको साझेदारीमा यो सम्मान स्थापना गरिएको हो ।

यस सम्मानबाट यसअघि सार्वजनिक प्रशासन, व्यवस्थापन, स्वास्थ्य, शिक्षा, न्याय, कूटनीति, सामाजिक सेवा तथा अन्य सार्वजनिक सरोकारका क्षेत्रमा योगदान पुर्याएका २१ जना विशिष्ट व्यक्तित्व सम्मानित भइसकेका छन् । आज दुईजना सम्मानित भएसँगै हालसम्म सम्मानित हुने संख्या २३ पुगेको छ । 

सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले सार्वजनिक सेवा र राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएबापत सम्मानित दुवैजनालाई बधाई दिए ।  

यस्ता सम्मानले समाजका मानिसहरूलाई असल काम गर्न प्रेरित गर्ने र यसले भोलिका प्रशासक, व्यवस्थापक, चिकित्सक तथा उद्यमीहरूलाई समाजप्रति थप जिम्मेवार बन्दै उत्कृष्टता हासिल गर्न उत्प्रेरणा दिने उनले विश्वास व्यक्त गरे ।

तीव्र प्रविधिको विकास, एआईजस्ताले परम्परागत प्रशासनिक अभ्यासहरूलाई परिवर्तन गरे पनि मानवीय मूल्यहरूको महत्त्व कहिल्यै नसकिने राष्ट्रपति पौडेलले स्पष्ट पारेका छन् । उनका अनुसार प्रविधि र क्षमता अरूबाट लिएर पनि उपयोग गर्न सकिन्छ, तर आचरण, नैतिकता र इमान्दारिता अन्तस्करणको विषय हो । 

राष्ट्रपति पौडेलले सक्षम संस्था, दक्ष नेतृत्व र उत्तरदायित्वको संस्कृतिमा नै दिगो विकास निर्भर रहने बताए । साथै उनले जनप्रशासन संघजस्ता पेशागत संस्थाहरूले नीति निर्माण, प्रशासनिक सुधार र सुशासनका क्षेत्रमा अझ प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।  

Share News