दलका नेताबिनै रास्वपा संसदीय दलको बैठक, विधानले के भन्छ ?

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक अहिले पार्टी संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिमा बसिरहेको छ ।

संसदीय दलको बैठकमा दलका नेता नै उपस्थित नभएपछि बैठकको वैधानिकता र यसले गर्ने निर्णयमाथि चासो बढेको छ । 

यद्यपि, रास्वपाको विधानअनुसार दलका नेता अनुपस्थित हुँदैमा संसदीय दलको बैठक स्वतः अवैध हुने भने देखिँदैन ।

रास्वपाको विधानमा सम्बन्धित निकायको बैठक बोलाउने तथा त्यसको नेतृत्व गर्ने व्यवस्था गरिएको छ । 

प्रमुख अनुपस्थित भएमा उनले तोकेको उपप्रमुखले बैठकको नेतृत्व गर्न सक्ने र विशेष परिस्थितिमा प्रमुख तथा उपप्रमुख दुवै अनुपस्थित भए उपस्थित सदस्यमध्येबाट बैठकको अध्यक्षता गर्न सकिने व्यवस्था छ ।

त्यसैगरी, बैठकका लागि आवश्यक गणपूरक संख्या सम्बन्धित निकायका कायम सदस्य संख्याको बहुमत हुने व्यवस्था विधानमा छ । 

त्यसैले दलका नेता शाह बैठकमा उपस्थित नभए पनि आवश्यक गणपूरक संख्या पुगेको र बैठक विधानअनुसार आह्वान तथा सञ्चालन गरिएको भए बैठक बस्न कानुनी अवरोध देखिँदैन ।

रास्वपाको पछिल्लो विधानमा पार्टी सभापति र संसदीय दलबीच नीतिगत समन्वयको व्यवस्था गरिएको छ । 

सभापतिले दिएको नीतिगत मार्गनिर्देशन पालना गर्नु संसदीय दलका नेता तथा सदस्यको कर्तव्य हुने व्यवस्था पनि विधानमा छ ।

सोही विधान अनुसार प्रतिनिधि सभा सदस्यहरू र सरकारबीच तालमेल नमिलेकाले दलको बैठक बोलाउनु परेको बैठकमा उपस्थित एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार बैठकबाट संसदीय दलका नेता शाहको जिम्मेवारी, अधिकार वा पदसँग सम्बन्धित कुनै निर्णय गर्ने कार्यक्रम नभएकोले बैठकमा दलका नेता उपस्थित नहुँदा कुनै समस्या हुँदैन ।

Share News