जीडब्लूएमको नयाँ ईभी ‘हाभल जोलियन म्याक्स’ नेपालमा सार्वजनिक

काठमाडौं । ग्रेट वाल मोटर (जीडब्लूएम) ले नयाँ विद्युतीय एसयूभी ‘हाभल जोलियन म्याक्स’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

काठमाडौंमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा कम्पनीले नयाँ विद्युतीय एसयूभी सार्वजनिक गरेको हो ।

५८.३ किलोवाट–आवर ब्याट्री रहेको जोलियन म्याक्सले एकपटक चार्ज गर्दा ४२० किलोमिटरभन्दा बढी दूरी तय गर्ने कम्पनीको दाबी छ । एसयूभीमा १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स दिइएको छ ।

सुरक्षाका लागि यसमा अनुकूल क्रुज नियन्त्रण, लेनमा राख्ने सहायता, लेन परिवर्तन सहायता, आकस्मिक लेनमा राख्ने सहायता र अगाडिको ठक्करको चेतावनीलगायतका सुविधा छन् ।

त्यस्तै, स्वचालित आकस्मिक ब्रेकिङ, पछाडिबाट आउने सवारीको चेतावनी तथा ब्रेकिङ सुविधा पनि उपलब्ध छ । चालक थकान निगरानी र पारदर्शी अन्डरबडी भ्यु सिस्टमसमेत यसमा रहेको कम्पनीले जनाएको छ ।

जोलियन म्याक्सको भित्री भागमा १४.६ इन्चको टचस्क्रिन राखिएको छ । यसमा एप्पल कारप्ले, एन्ड्रोइड अटो, वायरलेस चार्जिङ, आवाज पहिचान, ब्लुटुथ र ६ वटा स्पिकरको अडियो प्रणाली उपलब्ध छ ।

भेरियन्टअनुसार प्यानोरामिक सनरुफ, तातो तथा हावायुक्त अगाडिका सिट, विद्युतीय चालक सिट र एम्बियन्ट लाइटिङलगायतका सुविधा पनि छन् ।

चार्जिङतर्फ यसले ६.६ किलोवाटसम्मको एसी चार्जिङ र डीसी चार्जिङलाई समर्थन गर्छ । भेहिकल–टु–लोड सुविधामार्फत बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिने कम्पनीले जनाएको छ ।

जीडब्लूएमले नेपालमा करिब एक महिनाअघि मात्रै ‘ओरा–५’ विद्युतीय गाडी सार्वजनिक गरेको थियो । छोटो समयमै अर्को विद्युतीय एसयूभी सार्वजनिक गरेसँगै कम्पनीले नेपाली बजारमा विद्युतीय सवारीको दायरा विस्तार गरेको छ ।

कम्पनीका अनुसार नेपाल ‘हाभल जोलियन म्याक्स’ सार्वजनिक हुने विश्वकै दोस्रो बजार हो । जीडब्लूएम हाल १७० भन्दा बढी देश तथा क्षेत्रमा उपस्थित रहेको जनाएको छ ।

नेपालका लागि जीडब्लूएमको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालि हो । कम्पनीले आगामी दिनमा प्रिमियम तथा विलासी श्रेणीसहित विभिन्न खालका थप मोडल सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

नाइमा एक्स्पोका लागि हाभल जोलियन म्याक्सको विशेष सुरुवाती मूल्य ५९ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

Share News