काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा डिजिटल इकोसिस्टमलाई थप सुदृढ बनाउँदै एकैसाथ तीन नवीन प्रविधिमा आधारित डिजिटल बैंकिङ सेवा सार्वजनिक गरेको छ ।
ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले बैंकले ‘गरिमा प्रिपेड डलर कार्ड’, ‘गरिमा पोस टर्मिनल’ र ‘गरिमा इन्टरबैंक क्यूआर टेलर’ सेवाको औपचारिक शुभारम्भ गरेको हो ।
नयाँ सार्वजनिक गरिएका सेवाहरू अन्तर्गत ‘गरिमा प्रिपेड डलर कार्ड’ मार्फत ग्राहकहरूले नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रही अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा ई-कमर्स प्लेटफर्महरूमा अमेरिकी डलरमा सुरक्षित अनलाइन भुक्तानी गर्न सक्नेछन् ।
त्यस्तै, व्यवसायी तथा व्यापारीहरूलाई नगदरहित कारोबारमा प्रोत्साहन गर्न ल्याइएको ‘गरिमा पोस (पीओएस) टर्मिनल’ मार्फत डेबिट, क्रेडिट तथा प्रिपेड कार्डबाट सुरक्षित र छिटो भुक्तानी लिन सकिने व्यवस्था मिलाइएको छ ।
यसैगरी, ‘गरिमा इन्टरबैंक क्यूआर टेलर’ सेवामार्फत फोनपे नेटवर्कमा आबद्ध जुनसुकै बैंक तथा वित्तीय संस्थाका ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपबाट क्यूआर स्क्यान गरी गरिमा विकास बैंकको जुनसुकै शाखाबाट सहजै नगद प्राप्त गर्न सक्नेछन् ।
ISO 9001:2015 र ISO 27001:2022 मान्यता प्राप्त यस बैंकले हाल देशभर १२६ शाखा कार्यालय र ५१ वटा एटीएममार्फत करिब ९ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।