काठमाडौं । नेपाल एसबीआई बैंकले ३३औँ स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।
बैंकले मंगलबार ३३औँ बैंक दिवसका अवसरमा केन्द्रीय कार्यालय कमलादीमा कर्मचारीहरूको सामूहिक शपथग्रहण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (एमडी तथा सीईओ) रामकुमार तिवारीले कर्मचारीहरूलाई बैंकप्रतिको जिम्मेवारी र प्रतिबद्धता दोहोर्याउँदै शपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पाण्डे, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादवसहित वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो । प्रदेश कार्यालय तथा शाखामा कार्यरत कर्मचारीले भने भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागिता जनाएका थिए ।
कर्मचारीलाई सम्बोधन गर्दै सीईओ तिवारीले बैंकको गौरवपूर्ण इतिहासलाई कायम राख्दै सुशासन, नैतिकता, इमानदारी, नवप्रवर्तन, ग्राहककेन्द्रित सेवा तथा टोलीगत कार्यसंस्कृतिलाई थप सुदृढ बनाउन आग्रह गरे । चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै संस्थागत उत्कृष्टताका लागि सामूहिक प्रयास आवश्यक रहेको उनले बताए ।
स्थापना दिवसकै अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सातै प्रदेशमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । साथै विराटनगरमा श्री लक्ष्मीनारायण वेद विद्याश्रमलाई स्मार्ट बोर्ड तथा विराटेश्वर ज्येष्ठ नागरिक मैत्री क्लिनिकलाई आर्थिक सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।
यस्तै, वीरेन्द्रनगरस्थित श्री प्रभात माध्यमिक विद्यालय र श्री हरिदिल भूमि माध्यमिक विद्यालयलाई पनि स्मार्ट बोर्ड हस्तान्तरण गरिएको छ । प्रविधिमैत्री शिक्षाको प्रवर्द्धन र शैक्षिक गुणस्तर सुधारमा योगदान पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जनाएको छ ।
बैंकले हाल देशभर १०३ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालयमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।