नेपालमा घट्दैछ डेङ्गी संक्रमण

काठमाडौं । मनसुन सुरु हुनासाथ काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा डेङ्गी संक्रमणको त्रास बढ्ने गर्छ वर्षासँगै घर-आँगन, टायर, गमला, ड्रम र अन्य भाँडाकुँडामा जमेको सफा पानीमा एडिस एजिप्टाइ र एडिस एल्बोपिक्टस जातका पोथी लामखुट्टे तीव्र रूपमा बढ्ने भएकाले डेङ्गी फैलिने जोखिम पनि बढ्छ । यही कारण नेपालमा हरेक वर्ष मनसुन सुरु भएसँगै स्वास्थ्य निकायले विशेष सतर्कता अपनाउन आग्रह गर्छन् ।

कोभिड-१९ महामारीपछि नेपालले डेङ्गी संक्रमणको भयावह अवस्था भोग्यो । विशेषगरी सन् २०२२ र २०२३ मा संक्रमणले देशव्यापी महामारीको रूप लिएको थियो । तर, पछिल्ला तीन वर्षका तथ्यांकले भने डेङ्गी संक्रमण क्रमशः घट्दै गएको देखाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२४, २०२५ र २०२६ मा डेङ्गी संक्रमितको संख्या निरन्तर घट्दो क्रममा छ । महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार सन् २०२४ को तुलनामा सन् २०२५ मा डेङ्गी संक्रमित करिब ६४ प्रतिशतले घटेका छन् । त्यस्तै, गत वर्षको तुलनामा सन् २०२६ को जुन महिनासम्म संक्रमण झण्डै ५० प्रतिशतले कम देखिएको छ ।

तथ्यांकअनुसार सन् २०२४ मा देशभर ४१ हजार ८६५ जनामा डेङ्गी संक्रमण पुष्टि भएको थियो । यो संख्या सन् २०२५ मा घटेर ८ हजार ५७३ मा झर्यो । चालु वर्ष सन् २०२६ को जुन महिनासम्म १ हजार २४४ जनामा मात्र संक्रमण पुष्टि भएको महाशाखाको तथ्यांकले देखाएको छ । 

संक्रमितको संख्या मात्रै होइन, डेङ्गीबाट हुने मृत्यु पनि वर्षेनी घट्दै गएको छ । सन् २०२२ मा डेङ्गीका कारण ८८ जनाको मृत्यु भएको थियो। सन् २०२३ मा यो संख्या २० मा झर्यो । त्यसपछि सन् २०२४ मा १५, सन् २०२५ मा ६ र सन् २०२६ को जुन महिनासम्म २ जनाको मात्र मृत्यु भएको छ ।

यद्यपि डेङ्गीबाट मृत्यु भएका सबै व्यक्तिको मृत्युको एकमात्र कारण डेङ्गी नै नहुने डा. दाहाल बताउँछन् । उनका अनुसार अधिकांश बिरामी पहिलेदेखि नै अन्य गम्भीर रोगबाट पीडित रहेका हुन्छन् । 

‘हाम्रो देशमा डेङ्गीका कारण मृत्यु भएको भनिएका सबै बिरामीको मृत्युको मुख्य कारण डेङ्गी मात्रै हुँदैन,’ डा. दाहाल भन्छन्, ‘धेरैजसो बिरामी पहिलेदेखि नै अन्य दीर्घरोगका कारण अस्पतालमा उपचाररत वा घरमै उपचार गरिरहेका हुन्छन् । त्यस्ता बिरामीमा डेङ्गी संक्रमण थपिँदा अवस्था जटिल भएर मृत्यु हुने गरेको देखिन्छ ।’

स्वास्थ्य विज्ञहरूका अनुसार संक्रमण घट्नुका पछाडि एकभन्दा बढी कारण छन् । विगतका महामारीपछि जनचेतना बढ्नु, लामखुट्टे नियन्त्रण अभियान प्रभावकारी हुनु, स्थानीय तहले सरसफाइमा दिएको प्राथमिकता, संक्रमितको छिटो पहिचान र उपचार तथा समुदायमा डेङ्गीबारे बढेको सचेतनाले संक्रमण नियन्त्रणमा सहयोग पुगेको उनीहरूको भनाइ छ । 

रोग निगरानी तथा अनुसन्धान विभागका प्रमुख डा. अमृत पोखरेलका अनुसार पछिल्लो समय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले रोग निगरानी तथा प्रतिकार्य प्रणालीलाई थप प्रभावकारी बनाएको छ । सम्भावित जोखिम देखिनेबित्तिकै त्यसको विश्लेषण गरी आवश्यक कदम चाल्ने अभ्यासले डेङ्गी नियन्त्रणमा सकारात्मक प्रभाव पारेको उनको भनाइ छ ।

‘हामी कुनै घटना घटेपछि मात्रै सक्रिय हुँदैनौँ,’ डा. पोखरेल भन्छन्, ‘हामी सम्भावित संकेतहरू पहिल्यै खोज्छौँ, जोखिमको विश्लेषण गर्छौँ र त्यसको प्रतिकार्यका लागि आवश्यक तयारी तथा काम सुरु गरिहाल्छौँ ।’

उनी रोग नियन्त्रणमा उपचारभन्दा पनि समयमै निगरानी, जोखिमको पूर्वानुमान र समुदायसम्म पुग्ने प्रतिकार्य प्रणाली प्रभावकारी हुनु सबैभन्दा महत्वपूर्ण पक्ष रहेको बताउँछन् ।  यही रणनीतिले पछिल्ला वर्षहरूमा डेङ्गीसहित अन्य संक्रामक रोगको व्यवस्थापनमा पनि सकारात्मक परिणाम देखिन थालेको उनको भनाइ छ ।

तर, संक्रमितको संख्या घट्दै गएको भन्दै ढुक्क हुने अवस्था भने छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. अनुज भट्टचन मनसुन अझै जारी रहेकाले आगामी केही महिनासम्म डेङ्गीको जोखिम उच्च नै रहने बताउँछन् । 

उनका अनुसार वर्षायाम डेङ्गी सार्ने एडिस लामखुट्टेको प्रजननका लागि सबैभन्दा अनुकूल समय भएकाले अहिलेको सावधानी नै संक्रमण नियन्त्रणको प्रमुख आधार हो । घर वरिपरि पानी जम्न नदिने, पानी संकलन गर्ने भाँडाहरू नियमित सफा गर्ने र ढाकेर राख्ने, लामखुट्टेको टोकाइबाट बच्न आवश्यक उपाय अपनाउने तथा ज्वरो आएमा ढिला नगरी स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउने कार्यलाई निरन्तरता दिनुपर्ने उनी जोड दिन्छन् । 

‘संक्रमण घटेको छ भनेर जोखिम सकिएको होइन,’ डा. भट्टचन भन्छन्, ‘मनसुनका बाँकी महिनाहरू अझै चुनौतीपूर्ण छन् । नागरिकले सावधानी अपनाए र स्थानीय तहले लामखुट्टे नियन्त्रण अभियानलाई निरन्तरता दिए मात्रै डेङ्गीलाई नियन्त्रणमा राख्न सकिन्छ ।’

पछिल्ला वर्षमा डेङ्गी संक्रमण घट्नु स्वास्थ्य प्रणालीका लागि सकारात्मक संकेत भए पनि यो सफलता कायम राख्न निरन्तर निगरानी, प्रभावकारी प्रतिकार्य र नागरिकको सचेत सहभागिता उत्तिकै आवश्यक देखिन्छ ।

डेंगी नियन्त्रणका कार्यक्रम

डेङ्गी संक्रमण नेपालका ७७ वटै जिल्ला र ३ सय ९४ स्थानीय तहसम्म फैलिसकेको छ । देशव्यापी रूपमा संक्रमण फैलिइसकेको अवस्थामा यसलाई नियन्त्रणमा राख्नु स्वास्थ्य प्रणालीका लागि ठूलो चुनौती थियो । तर स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्ला वर्षहरूमा रोग नियन्त्रणका लागि अपनाइएका लक्षित कार्यक्रम, स्थानीय तहको सक्रियता र नागरिकमा बढेको सचेतनाले संक्रमणको दर घटाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार डेङ्गी नियन्त्रण कुनै एक कार्यक्रमको परिणाम मात्र होइन । विगतका महामारीबाट प्राप्त अनुभव, रोग निगरानी प्रणालीको सुदृढीकरण, समुदायस्तरमा निरन्तर सञ्चालन गरिएका जनचेतनामूलक अभियान र स्थानीय तहको सक्रिय सहभागिताले संक्रमण नियन्त्रणमा सकारात्मक प्रभाव पारेको हो ।

विशेषगरी संक्रमण बढी देखिएका र उच्च जोखिममा रहेका क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले लक्षित कार्यक्रम सञ्चालन गरेको थियो । सबै स्थानीय तहमा कुनै न कुनै प्रकारका रोकथामका गतिविधि भए पनि उच्च जोखिम भएका पालिकामा अभियानलाई अझ सघन बनाइएको महाशाखाको भनाइ छ ।

डेङ्गी नियन्त्रणका लागि सन् २०२५ मा देशभरका ३सय ३४ स्थानीय तहका ४ हजार १ सय २४ टोल तथा समुदायमा ‘डेङ्गी खोज तथा नष्ट अभियान’ सञ्चालन गरिएको थियो । यस अभियानअन्तर्गत लामखुट्टेले फुल पार्ने सम्भावित स्थानहरूको खोजी, पानी जम्ने स्रोतहरूको व्यवस्थापन तथा समुदायलाई प्रत्यक्ष रूपमा सरसफाइ अभियानमा सहभागी गराइएको थियो ।

त्यसैगरी, २९१ स्थानीय तहका २ हजार ३ सय ६२ विद्यालयमा डेङ्गीसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरी विद्यार्थीमार्फत परिवार र समुदायसम्म रोग रोकथामका सन्देश पु¥याउने प्रयास गरिएको थियो ।

नीतिगत समन्वयलाई सुदृढ बनाउन ३ सय ५२ स्थानीय तहमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र अन्य सरोकारवालासँग नीति संवाद तथा पैरवी कार्यक्रम सञ्चालन गरिएको थियो । यस्तै, २ सय १५ स्थानीय तहमा स्थानीय सञ्चारमाध्यममार्फत डेङ्गीको जोखिम, रोकथामका उपाय र समयमै उपचारको आवश्यकता सम्बन्धी जनचेतनामूलक सन्देश नियमित रूपमा प्रसारण गरिएको थियो ।

डेङ्गी अब केवल मनसुनमा देखिने मौसमी रोग रहेन। वर्षभरि छिटफुट संक्रमण देखिन थालेपछि यसको रोकथामका कार्यक्रम पनि वर्षभरि नै सञ्चालन गर्नुपर्ने अवस्था आएको छ ।

‘डेङ्गी सचेतना महिना’ 

डेङ्गीको जोखिम बढ्ने समयलाई लक्षित गर्दै महाशाखाले गत वर्षदेखि साउन महिनालाई ‘डेङ्गी सचेतना महिना’ का रूपमा मनाउन थालेको छ । त्यसपछि आउने तीन महिनालाई उच्च निगरानी अवधिका रूपमा लिँदै संक्रमणको नियमित अनुगमन, जोखिम क्षेत्रको पहिचान र समुदायस्तरीय प्रतिकार्यलाई निरन्तरता दिने योजना यस वर्ष पनि कायम राखिएको छ ।

महाशाखाले लामखुट्टे प्रजनन हुने सम्भावना बढी रहेका क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ । प्रयोग भइसकेका टायर थुपारिने अटो वर्कसप, अटोमोबाइल सेवा केन्द्र, कबाडी तथा रिसाइकल व्यवसाय, होटल तथा रेस्टुरेन्ट, विद्यालय र अन्य सार्वजनिक संस्थासँग नियमित छलफल तथा सहकार्य गर्दै पानी जम्ने स्थानको व्यवस्थापन, सरसफाइ र जनचेतनामूलक अभियान सञ्चालन भइरहेको छ ।

महाशाखाले विभिन्न प्रदेशमा गरिएको जोखिम विश्लेषणमा मधेश प्रदेश तुलनात्मक रूपमा कम जोखिममा रहेको पाइएको छ । त्यसविपरीत लुम्बिनी र बागमती प्रदेश मा डेङ्गी संक्रमणको जोखिम सबैभन्दा उच्च देखिएकाले यी प्रदेशमा निगरानी, सचेतना र नियन्त्रणका कार्यक्रमलाई अझ सघन बनाइएको छ ।

स्वास्थ्य अधिकारीहरूका अनुसार डेङ्गी नियन्त्रण सरकारको मात्र जिम्मेवारी होइन । स्थानीय सरकार, स्वास्थ्य संस्था, निजी क्षेत्र, विद्यालय, सञ्चारमाध्यम र नागरिक सबैको साझा प्रयासले मात्र संक्रमणलाई नियन्त्रणमा राख्न र डेङ्गीबाट हुने मृत्यु न्यून गर्न सकिन्छ । 

Share News