काठमाडौं । भरतपुर महानगरपालिका-१० स्थित लड्र्स बिजनेस कम्प्लेक्स होटल प्रालिलाई खाद्य गुणस्तरमा लापरबाही गरेको ठहर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनद्वारा जारी सूचनाअनुसार उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा सहायक प्रमुख जिल्ला अधिकारीसहितको अनुगमन टोलीले होटलमा मङ्गलबार आकस्मिक निरीक्षण गरेको थियो ।
निरीक्षणका क्रममा होटलले गुणस्तरहीन खाने तेल प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान नदिएको तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने किसिमका खाद्य सामग्री प्रयोग गरी सेवा दिएको पाइएको उल्लेख गरिएको छ ।
साथै, अनुगमनका क्रममा बरामद गरिएका अखाद्य तथा गुणस्तरहीन खाद्य सामग्रीहरू नष्ट गर्ने निर्णयसमेत गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत मदन लामा थिङले जानकारी दिए ।