काठमाडौं । सरकारले विभिन्न होल्डिङ सेन्टरहरूमा बस्दै आएका सुकुमवासीहरूलाई आगामी ५ दिनभित्र उक्त स्थान खाली गर्न निर्देशन दिएको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले एक सूचना जारी गर्दै सरकारले उपलब्ध गराउने सेवा–सुविधा लिएर होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको हो ।
समितिका अनुसार सेन्टरमा रहेका परिवारहरूलाई सरकारले तोकेको २५ हजार रुपैयाँ राहत रकम लिएर ५ दिनभित्र बुझाएको स्थान छाड्न भनिएको छ ।
यससम्बन्धी आधिकारिक सूचना समितिले सबै होल्डिङ सेन्टरहरूमा टाँसिसकेको छ ।
सरकारले तोकेको नगद राहत र सेवासुविधा लिएर पनि तत्काल जाने कुनै विकल्प नभएका परिवारहरूको हकमा भने समितिले मध्यमार्गी बाटो अपनाउने संकेत गरेको छ ।
त्यस्ता असहाय वा विकल्पहीन परिवारहरूका लागि थप छलफल गरी अन्य आवश्यक निर्णय लिइने समितिले जनाएको छ ।
समितिको पछिल्लो तथ्याङ्कअनुसार हाल सबै होल्डिङ सेन्टरहरूमा गरी कुल ३८८ घरपरिवार बसोबास गरिरहेका छन्। उनीहरू सबैको आवश्यक स्क्रिनिङको कार्य सम्पन्न भइसकेको समितिले जानकारी दिएको छ।
यसअघि सरकारले सुकुम्वासी बस्ती भत्काएपछि सुकुम्वासीको रूपमा आफ्नो नाम दर्ता गराउन आउनेहरूको संख्या २ हजार ६०८ पुगेको थियो ।