गभर्नर पौडेलको दस्तखत रहेका ५०० दरका नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (असार ३ गते)देखि ५ सय रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको उक्त नयाँ नोट साविककै आकार र रंगमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार झ३८ ०००००१ देखि ट८३ ९९९९९९ सम्मका संकेत नम्बर भएका नोटहरू चलनचल्तीमा ल्याइएका हुन् । प्रत्येक अक्षर समूहमा ०००००१ देखि ९९९९९९ सम्मका नोट रहने व्यवस्था अनुसार करिब ३० लाख थान नयाँ ५०० रुपैयाँ नोट बजारमा आएको राष्ट्र बैंकले जनाएको छ । यसअघि २०७८ पुस ९ गतेदेखि २०२० सिरिजका ५०० रुपैयाँ दरका २ लाख ४८ हजार थान नोट चलनचल्तीमा ल्याइएको थियो ।

नयाँ नोटका विशेषता

नयाँ नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । तल्लो भागमा सिरिज नम्बर २०८२ उल्लेख गरिएको छ ।

दृष्टिविहीनहरूले स्पर्श गरेर पहिचान गर्न सक्ने गरी पानी छापको बायाँतर्फ दुईवटा कालो थोप्ला राखिएको छ । सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र ढल्काउँदा र सीधा हेर्दा रंग परिवर्तन हुने कुबेरको चित्र राखिएको छ ।

नोटमा ३.५ मिलिमिटर चौडाइको सुरक्षण धागो रहेको छ, जसले सीधा हेर्दा रातो र ढल्काउँदा हरियो देखिन्छ। नोटको पछाडिको भागमा पाटे बाघको चित्रसहित नेपाली र अंग्रेजी लेखाइहरू समावेश छन् । राष्ट्र बैंकले नयाँ नोट सुरक्षा विशेषतासहित आधुनिक प्रविधिमा आधारित रहेको जनाएको छ । 

Share News