नेपाल एसबिआईको सामाजिक कार्यक्रम : इटहरीका ११० भन्दा बढी विद्यार्थी लाभान्वित

काठमाडौं । नेपाल एसबिआई बैंकले सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–८ स्थित श्री सेतो गुराँस नमुना बालबाटिका आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सहयोग प्रदान गरेको छ । बैंकले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि स्कुल ब्याग, शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको जनाएको छ ।

उक्त सामग्रीहरू बैंककी कोशी प्रदेश प्रमुख दमयन्ती जोशीले विद्यालयकी प्रधानाध्यापक लक्ष्मी चौधरीलाई एक कार्यक्रमबीच हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा शिक्षक, विद्यार्थी तथा बैंकका अन्य अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

बैंकका अनुसार यस पहलले विद्यालयको शैक्षिक वातावरण थप प्रभावकारी बनाउन मद्दत पुग्नुका साथै विद्यार्थीहरूको पठनपाठनमा सहजता ल्याउने लक्ष्य राखिएको छ । कार्यक्रमबाट गरिब तथा विपन्न वर्गका ११० भन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

नेपाल एसबिआई बैंकले समुदायस्तरमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू समय–समयमा सञ्चालन गर्दै आइरहेको छ । बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् ।   

Share News