अण्डरपास तथा फ्लाईओभर संरचना निर्माण हुन नसक्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा कठिनाइ

काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन लामो समयदेखि अस्तव्यस्त बन्दै आएको छ । 

दैनिक लाखौं सर्वसाधारणले ट्राफिक व्यवस्थापनको अभावले हैरानी खेप्नु परिरहेको छ । 

अत्यधिक सवारी चाप, साँघुरा सडक र जनसंख्याको तीव्र वृद्धिले गर्दा उपत्यकामा ट्राफिक समस्या झन् जटिल बनेको हो । 

बुधबार महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार उपत्यकाको ट्राफिक हुने मुख्य ठाउँहरुमा अण्डरपास तथा फ्लाईओभर जस्ता संरचना निर्माण हुन नसक्दा उपत्यकाको ट्राफिक व्यवस्थापन हुन सकेको छैन । 

ट्राफिक बत्तीको नियमित मर्मत सम्भार नगरिनु, जडान गरिएका स्मार्ट बत्ती थप व्यवस्थित नहुनु, सवारीसाधनहरूको आयु निर्माण नहुनु, वातावरणीय मापदण्ड र ट्राफिक व्यवस्थापनमा समयानुकूल सुधार गर्न नसकिनु, सडक अनुशासन तथा ट्राफिक नियम सम्बन्धी सचेतना अभिवृद्धि गर्ने कार्यक्रम प्रभावकारी हुन नसक्दा उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्न पुगेको हो । 

यसैगरी, महालेपरीक्षकको कार्यालयले ट्राफिक नियमका बारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन नगरिनु, सञ्चालनमा रहेका करिडोरहरूको अवरोध हटाई निर्वाध रूपमा आवागमन नगरिनु, विद्युतीय तार अन्डरग्राण्ड हुन नसकेको खानेपानी ढल व्यवस्थापनलगायतका निकायबिच समवन्य कायम हुन नसक्नुलगायत पार्किङस्थलको व्यवस्था नगरिँदा उपत्यकाको ट्राफिकलाई व्यवस्थापन गर्न नसकिएको जनाएको छ । 

यस्तै, सडक र अन्य सडक निर्माणको ढिलासुस्ती, सडक छेउमा मापदण्डविपरीत रहेका ग्यारेज, पेट्रोलपम्प, वर्कशप, उचित पार्किङस्थलको अभाव, सचेतनाको अभाव, प्रविधिको प्रयोग हुन नसक्नुलगायत कारणले पनि समस्या बल्झिन पुगेको छ । 

उपत्यकाको ट्राफिक जाम दैनिक जीवनको एक हिस्सा जस्तो बनेको छ । खासगरी तीनकुने, नयाँ बानेश्वर, माइतीघर, चाबहिल, कोटेश्वर, कलंकी, थापाथली र नयाँ बसपार्कजस्ता चोकहरू सधैंजसो अस्तव्यस्त अवस्थामा देखिन्छन् । 

ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी महाशाखाले प्रयास गरिरहेको भए पनि समस्या समाधानमा अपेक्षित सफलता प्राप्त गर्न सकेको छैन ।

Share News