राजावादीले कहाँ-कहाँ गरे आगजनी र तोडफोड ?

<p>काठमाडौं । राजावादी प्रदर्शनकारीहरूले शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरु भएको द्विपक्षीय झडप उग्र बन्दै हिंसात्मक बनेको हो । प्रदर्शनकारीहरूले आज आन्दोलन गर्दा विभिन्न ठाउँमा तोडफोड, ढुंगामुढा आगजनीजस्ता अप्रीय घटना घट्न पुगेको छ । आन्दोलन क्षेत्रमा गोली लागेर एक जना घाइते भएको खबर प्राप्त भएको [&hellip;]</p>

काठमाडौं । राजावादी प्रदर्शनकारीहरूले शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरु भएको द्विपक्षीय झडप उग्र बन्दै हिंसात्मक बनेको हो ।

प्रदर्शनकारीहरूले आज आन्दोलन गर्दा विभिन्न ठाउँमा तोडफोड, ढुंगामुढा आगजनीजस्ता अप्रीय घटना घट्न पुगेको छ । आन्दोलन क्षेत्रमा गोली लागेर एक जना घाइते भएको खबर प्राप्त भएको छ भने दर्जनौं संख्यामा घाइते भएका छन् ।

राजावादी समर्थकहरुले तीनकुनेस्थित एक घरमा आगजनी गरेका छन् । त्यस्तै, काठमाडौंको आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा आगजनी भएको छ । प्रदर्शनकारीहरूले समाजवादी पार्टी कार्यालय तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् ।

त्यस्तै, तीनकुनेस्थित अन्नपूर्ण पोष्ट र कान्तिपुर टिभीमा पनि प्रर्दशनकारीले आगो लगाउने प्रयास गरेका छन् । तीनकुने क्षेत्रबाट लखेटिएका राजावादी समूहका प्रदर्शनकारीहरूले कोटेश्वरस्थित पेरिसडाँडा क्षेत्रका सवारीसाधनमा आगजनी र तोडफोड गरेका छन् ।
प्रर्दशनकारीले एउटा गाडीमा र बाइकमा तोडफोड आगजानी गरेका हुन् । पूर्वराजाका समर्थकहरूले बालकुमारीमा एउटा जीपमा आगजनी गरेको छ । प्रदर्शनकारीले पुल नजिकै काठमाडौंतर्फको भूभागमा जीपमा आगजनी गरेका हुन्।

राजावादीहरूले कोटेश्वरको भाटभटेनीमा तोडफोड गर्नुका साथै लुटपाट पनि मच्चाएका छन् ।

यसैगरी, राजावादी समर्थक प्रदर्शनकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाताभित्र आगजानी गरेका छन् । उक्त ठाउँमा आगजानी हुँदा पार्किङमा रहेको विमान र आयल निगमको डिपो जोखिममा परेका छन् ।

राजावादीको प्रदर्शनले उग्र रूप लिँदै गएपछि काठमाडौंको पाँच क्षेत्रमा कर्फ्यू आदेशसमेत जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले करिब साढे चार बजेदेखि जारी भएको कफ्र्यू राति १० बजेसम्मका लागि जारी गरिएको हो ।

गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरबाट जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुल, नयाँ बानेश्वर चोकदेखि शंखमूल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यू लगाइएको हो ।
यस क्षेत्रभित्र आवतजावत गर्न र कुनै पनि प्रकारको भेला, जुलुस र प्रदर्शन गर्न निषेध गरिएको छ ।

Share News