
काठमाडौं । राजावादीको प्रदर्शन उग्र भएपछि काठमाडौं जिल्ला प्रशासनले काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । कार्यालयले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो ।
साढे चार बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो । कार्यालयले गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरबाट जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुल, नयाँ बानेश्वर चोकदेखि शंखमूल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु लगाइएको हो ।
यस क्षेत्रभित्र आवतजावत गर्न र कुनै पनि प्रकारको भेला, जुलुस र प्रदर्शन गर्न निषेध गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थिति उत्पन्न भएको भन्दै कर्फ्यु आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ (क) बमोजिम प्रमुख जिल्ला अधिकारीबाट यो आदेश जारी गरेका हुन् ।
कुनै ठाउँमा आन्दोलन वा हुलदङ्गा भई शान्ति भङ्ग हुन जाने देखिएमा परिस्थितिको विचार गरी आवश्यक भएमा प्रमुख जिल्ला अधिकारीले त्यस्तो स्थानको सीमाना तोकी सो ठाउँमा कसैले आवतजावत गर्न, भेला हुन र तोकेको अरू कुनै काम गर्न नपाउने गरी कफ्र्यू लगाउन आदेश जारी गर्न सक्ने व्यवस्था छ ।
त्यसरी कर्फ्युको आदेश दिँदा प्रमुख जिंल्ला अधिकारीले सो आदेश, कर्फ्यु लाग्ने क्षेत्र र सो वरिपरिका क्षेत्रका सर्वसाधारण जनताको जानकारीको लागि प्रचार गर्नु पर्दछ । कफ्र्य आदेशको पालना नगर्नेलाई एक महिना कैद वा एक हजार जरिवाना तथा दुवै हुन सक्ने व्यवस्था छ ।