काठमाडौं । सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएसँगै युवाहरू आन्दोलनमा उत्रिएका छन् । आज माइतीघरमा घिसिङलाई बर्खास्त गरेको विरोधमा स्वतन्त्र नागरिकको तर्फबाट युवाहरूले प्रदर्शन गरेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयको सत्तारुढ दलकै नेताहरूले पनि विरोध प्रदर्शन गरेका छन् । कुलमानलाई बर्खास्त गर्ने निर्णय लगत्तै मंगलबार बिहानैबाट रत्नपार्कस्थित प्राधिकरणको कार्यालयमा सुरक्षा बढाइएको छ ।
माइतीघरमा संलग्न प्रदर्शनकारीहरूले ‘जाग्यो जाग्यो जनता अति भयो अब त ’, ‘उज्यालो नेपाल जिन्दावाद’, ‘कुलमान घिसिङ जिन्दावाद’ लगायतका नारा लगाएका छन् ।