पेट्रोलियम पदार्थको मूल्य वृद्धिले विद्युतीय चुलोको खपत बढ्दै, खबौँ रकम बाहिर जानबाट जोगिँदै

<p>काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय चुलोको प्रयोगमा बढोत्तरी देखिन्छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि फागुनसम्मको अवधिमा ३१ करोड ४० लाख रुपैयाँ खर्चेर १५ लाख ८ हजार ६८६ वटा विद्युतीय चुलो आयात भएको देखिन्छ । यसरी आयात भएका विद्युतीय चुलोहरूलाई इण्डक्शन, इन्फ्रारेड र अन्य विद्युतीय चुलोमा वर्गीकरण गर्ने गरिएको [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय चुलोको प्रयोगमा बढोत्तरी देखिन्छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि फागुनसम्मको अवधिमा ३१ करोड ४० लाख रुपैयाँ खर्चेर १५ लाख ८ हजार ६८६ वटा विद्युतीय चुलो आयात भएको देखिन्छ ।

यसरी आयात भएका विद्युतीय चुलोहरूलाई इण्डक्शन, इन्फ्रारेड र अन्य विद्युतीय चुलोमा वर्गीकरण गर्ने गरिएको विभागको तथ्याङ्कमा छ । गत वर्षको सोही अवधीमा २२ करोड ६६ लाख रुपैयाँ खर्चेर १० लाख ३ हजार ७३० वटा विद्युतीय चुलो आयात भएको थियो ।

अहिले नेपालमा सबैभन्दा धेरै चुलो चीनबाट भित्रिएका छन् भने भारत, कतार, सिंगापुर, बंगलादेश, मलेसियाबाट पनि यस्ता चुलोहरू आयात भएको देखिन्छन् । सरकारले नै विद्युतीय चुलो प्रोत्साहनको नीति लिएकाले प्रयोग बढेको भन्सार विभागका निर्देशक नारायणप्रसाद रेग्मीले बताउँछन् ।

‘सरकारको नीति नै विद्युत् खपत बढोस् भन्ने छ, हाम्रा नीतिहरु सोही अनुकुलका छन् । बजारमा माग अनुसार व्यापरीहरुले विद्युतीय चुलोहरुको आयात गरिरहेका छन् ,’ उनले भने ।

नेपालमा विद्युत आपूर्तिमा सुधार र पेट्रोलियम पदार्थमा बढ्दो मूल्य वृद्धिका कारण विद्युतीय चुलोको प्रयोग सहज हुन थालेको बिक्रेताहरु बताउँछन् । सन् २०१५ को इन्धन संकटमा नेपालका धेरै भान्छामा प्रवेश पाएको विद्युतीय चुलोको लोकप्रियता बढ्दै गएको उनीहरूको भनाइ छ । उर्जाविज्ञ विजयमान शेरचन सिलिण्डरबाट निस्कने ग्यासले प्रदुषण उल्लेख्य बढाएकाले यसको प्रयोग निरुत्साहित गर्दै जानुपर्ने बताउँछन् ।

‘काठमाडौं त्यसैले त प्रदुषित बनिरहेको हुन्छ, ग्यास, पेट्रोलको प्रयोगले थप प्रदुषण बनाउन मद्दत पुगिरहेको छ । प्रदुषण हुन नदिन पनि विद्युतको अधिकतम प्रयोग जरुरी छ । ग्याससहित पेट्रोलिय पदार्थको आयातमा वर्षेनी खर्बौं गइरहेको छ । त्यसैले पनि स्वदेशमा उत्पादित बिजुलीको प्रयोग गर्नकै लागि भएपनि विद्युतीय चुलोहरुको प्रयोग गर्न जरुरी छ । सबै नेपालीले विद्युतीय चुलो प्रयोग गरियो भने खबौँ रकम बाहिर जानबाट जोगिन्छ,’ उनले भने ।

उनकाअनुसार एलपी ग्यासभन्दा विद्युत सस्तो र देश हितमा हुने भएकाले सरकारले विद्युत प्रयोगमा उपभोक्तालाई अझ जागरुक बनाउनुपर्छ । नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले विद्युतीय चुलोको माग बजारमा राम्रो रहेको बताउँछन् ।

देवकोटाले भने, ‘इण्डक्सनको प्रचारप्रसार नगरपालिकाहरुले पनि गरिरहेका छन् । उनीहरुको पोलिसी पनि छ । आफ्नो देशको बिजुलीलाई आफ्नै देशमा खपत गर्नका लागि विद्युतीय चुलोहरु प्रयोग गरौं भनेर उनीहरुले नीति लिएका छन् । माग बढ्नु स्वभाविक पनि भयो ।’

उनका अनुसार लोडसेडिङको अन्त्य पछि खाना पकाउन बिजुलीको अभाव छैन । सोही कारणले पनि प्रयोगकर्ता बढिरहेका छन् । इन्फ्रारेड जुनसुकै भाँडाहरु लाग्ने चुल्होहरु समेत रहेका कारण उपभोक्ताले सहज रुपमा विद्युतीय चुलोहरु प्रयोग गरिरहेका छन । अझै पनि सचेतनाको अभाव रहेकाले सरकारले विद्युतीय चुलोको प्रयोगबारे जनचेतना बढाउनुपर्ने देवकोटाको भनाई छ ।

विद्युतीय चुलोको प्रयोगबाट आम प्रयोगकर्ता पनि सन्तुष्टी नै देखिएका छन् । प्रतिनिधिमुलक पत्रका रुपमा वनेश्वरकी सपना थापाले पनि नाकाबन्दीको समयदेखि नै विद्युतीय चुलोको प्रयोग गर्दै आएकी छिन् । र उनले यसको प्रयोगबाट सन्तुष्ट रहेको बताइन् ।

‘नाकाबन्दीको बेला ग्यास पाइएन विद्युतीय चुलोको प्रयोग ल्याए । विद्युतीय चुलोको प्रयोगले ग्यासमा जाने पैसादेखि समयसम्म बचत भएको छ । मेरो दैनिकी पनि बदलिदिएको छ, खाना पकाउँदा कुरेर बस्नुपरेन । टाइम सेट गरेर खाना बसालेपछि तनाव नै नहुने । अर्को कुरा भाँडाहरु पनि धेरै फोहर नहुने भएकाले सफल गर्न सजिलो हुने,’ उनले भनिन् ।

ऊर्जा अध्ययन केन्द्रले केही समयअघि गरेको अध्ययनमा ग्यासको तुलनामा विद्युतको प्रयोगले खाना बनाउँदा झण्डै आधा सस्तो पर्ने देखाएको थियो । विद्युतीय चुलोको प्रयोगसँगै विद्युत् वितरण प्रणालीको क्षमता पनि बढाइनुपर्ने अध्ययनको निस्कर्ष थियो ।

सरकारले बजेटमा पनि ‘एक घर, एक विद्युतीय चुलो अभियान’ चलाउने घोषणा गरेको थियो । पछिल्लो समय केन्द्रदेखि प्रदेश सरकारसम्मै विद्युतीय चुलो प्रोत्साहनको नीति लिइएका कारण यसको प्रयोगकर्ता उल्लेख्य बढेका छन् । अनुदानमा आधारित विद्युतीय चुलो वितरण सम्बन्धी मापदण्ड बनाएर गण्डकी सरकारले त चुलो वितरण गरिरहेको छ । सरकारले मुलुकभित्र उत्पादित विद्युत खपत बढाउने नीति लिएको छ ।

विद्युत् विकास मार्गचित्र सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको छ । मार्गचित्रमार्फत अबको ११ वर्षमा विद्युतको थप २६ हजार मेगावाट हाराहारीमा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

हाल विद्युत जडित क्षमता ३ हजार ४०३ मेगावाट रहेको छ भने उत्पादित विद्युतमा साढे १३ हजार मेगावाट नेपालमै खपत गर्ने लक्ष्य लिएको छ । अहिले नेपालमा बढीमा २२ सय मेगावाटसम्म विद्युत खपत हुने गरेको छ । अहिले नेपालको राष्ट्रिय प्रशारण प्रणालीमा विद्युतजडित क्षमता ३४ सय मेगावाट पुगेको छ । हाल विद्युतको पहुँच ९९ प्रतिशत जनतामा पुगेको छ भने अहिले नेपालमा विद्युतको खपत प्रतिव्यक्ति ४१० युनिट छ ।

 

Share News