
चौथो ब्रिटाकोफ सम्मेलन जर्जियामा आयोजना भएको थियो । फाइल तस्बिर ।
काठमाडौं । नेपालमा आगामी सेप्टेम्बर महिनामा ब्रिटाकोफ अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।
चिनियाँ संस्था ब्रिटाकोफले सेप्टेम्बर ११ तारिखमा नेपालमा ब्रिटाकोफ अन्तर्राष्ट्रिय सम्मेलन गर्ने आन्तरिक राजस्व विभागले जनाएको छ ।
विभागका अनुसार यो संस्थाले नेपालमा आफ्नो वार्षिक कार्यक्रमलाई अन्तर्राष्ट्रिय सम्मेलनका रूपमा मनाउनेछ ।
यो सम्मेलनमा विश्वभरिका विभिन्न देशबाट करिब ४ सय जना सहभागी हुने विभाग महानिर्देशक मदन दाहाले जानकारी दिए ।
उनले भने, ‘प्रारम्भिक जानकारीअनुसार यो सम्मेलन ठुलो हुने भनिएको छ । जसमा विभिन्न देशबाट करिब ४ सय जनाको सहभागिता रहनेछ । सम्मेलनलाई सहज मर्यादित र व्यवस्थित बनाउनका लागि ठुलो होटेल आवश्यक छ । त्यसका लागि हामीले ठेक्का आह्वान गरेका छौं ।’
उनले ब्रिटाकोफ सम्मलनबारे पुरा जानकारी नआएको समेत बताए ।
विभागले पाँचतारे होटलको सेवा खरिद गर्नका लागि ठेक्का आह्वान खुला गरेको जनाएको छ ।
यसमा योग्य पाँचतारे होटलले मात्रै ठेक्का दिन पाउनेछन् । आवेदन दिने कम्पनीले आवेदन पेस गर्दा कागजातको आटीबी २३ को प्रावधानअनुसार आवेदन पेश गर्नुपर्नेछ।
आवेदन दिने चाहने कम्पनीले चैत्र ४ गतेदेखि आगामी बैशाख ५ गतेसममा इबीडी मार्फत आवेदन पेस गरिसक्नुपर्ने जनाएको छ ।
आवेदन दस्तुर तीन हजार तोकिएको छ भने जमानत रकम दुई लाख ७५ हजार तोकिएको छ ।
