काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प नेपालको विकास निर्माणका लागि समस्याको रुपमा रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले हिमालय पर्वत श्रृंखलामा बेला—बेलामा गइरहने भूकम्प देशको विकास निर्माणका लागि समस्याको रुपमा रहेको बताए । उनले केही प्राकृतिक प्रकोपहरुको पूर्वानुमान गर्ने पद्धतिको विकास भइसकेको भएपनि भूकम्प सम्बन्धी पूर्वानुमान गर्न सकिने संयन्त्र आज पर्यन्त पत्ता लगाउन नसकिएको उल्लेख गरे।
उनले विकसित मुलुकहरुमा भएको अनुसन्धान, औद्योगिकरण, जीवाश्म इन्धनको दोहन, कार्बन उत्सर्जनले कार्बन उत्सर्जनमा नगण्य योगदान गर्ने नेपाल जस्तो विकासशील देशमा झनै बढी असर पारेको बताए । यसले गर्दा पृथ्वीको तापक्रममा वृद्धि भइरहेको बताए ।
विगत तीन दशकको अवधिमा हिमालमा रहेका हिउँ नदीहरुको हिउँ एक तिहाई घटिसकेको उल्लेख गर्दै हिमतालहरु विष्फोटनको संघारमा रहेको बताए । अतिवृष्टिबाट हुने जल प्रकोप, पहिरो र भूक्षयबाट वर्षेनी थुप्रै जनधनको क्षति भइरहेको जानकारी दिए ।
राष्ट्रपति पौडेलले भने, ‘विकसित मुलुकहरुमा भएको अनुसन्धान, औद्योगिकरण, जीवाश्म इन्धनको दोहन, कार्बन उत्सर्जनले कार्बन उत्सर्जनमा नगण्य योगदान गर्ने नेपाल जस्तो विकासशील देशमा झनै बढी असर पारेको सर्वविदितै छ । यसले गर्दा पृथ्वीको तापक्रममा वृद्धि भइरहेको छ ।’
राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको कारक नभएपनि मार खेप्नुपर्ने नेपाल जस्ता मुलुकहरुका लागि जलवायु न्यायको विषय महत्वपूर्ण रहेको बताए । जलवायु न्यायको मुद्दालाई विश्व जगतमा पुर्याउन जरुरी रहेको बताए ।