
काठमाडौं । काठमाडौंको पुतलीसडकमा रहेको शंकरदेव कलेजमा विद्यार्थीहरूबीच झडप भएको छ । सोमबार स्ववियु निर्वाचनको लागि संगठन दर्ता गरिरहेका विभिन्न पार्टी निकट भातृ संगठनका विद्यार्थीहरूबीच झडप भएको हो ।
झडपमा परेर केही विद्यार्थी घाइते भएर अस्पताल लगिएको छ भने केहीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले केहीलाई पक्राउ गरिसकेको छ भने अझै झडप रोकिएको छैन । प्रहरीले सुरक्षा सतर्कताका लागि शंकरदेव कलेजको गेट बन्द गरेको छ भने कलेज परिसरका विभिन्न पसलका सटर पनि बन्द गर्न अपिल गरेको छ ।
सोमबारदेखि स्ववियु निर्वाचन कार्यक्रम सुरु भएको छ । गृह मन्त्रालयले पनि आगामी ५ चैतमा हुने स्ववियु चुनावको लागि सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ । स्ववियु चुनाव हुने क्याम्पसमा मतगणनाको कार्य पुरा नहुन्जेलसम्म सम्पूर्ण क्याम्पसहरूमा शान्ति सुरक्षाको व्यवस्था गर्न गृह मन्त्रालयले भनेको हो ।
त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु चुनावको लागि सुरक्षा प्रबन्ध गर्न माग गरेपछि गृहले सुरक्षा निकायलाई निर्देशन दिएको हो ।