
काठमाडौं । काठमाडौंको पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौं भ्यूटावरमा बिजुलीको लाइन काटिएको छ ।
राजधानीको रत्नपार्कस्थित काठमाडौं भ्यूटावरमा नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटेको हो ।
भ्यूटावर निर्माणमा भवन रेखदेख गर्न बसेका एक कर्मचारीका अनुसार गत साताको सोमबारदेखि उक्त ठाउँमा बिजुली काटिएको हो।
कर्मचारीले भने, ‘८-९ दिनदेखि भ्यूटावरमा बत्ती छैन । सुनसान छ, काम गर्न समस्या भइरहेको छ । पार्किङ गर्न पनि मोबाइलको उज्यालो बालेर गर्नुपरेको छ । अवस्था बेहाल छ ।’
उनले पानी र बिजुली नहुँदा सास्ती खेपिरहनुपरेको गुनासो गरे ।
विद्युत प्राधिकरणले बिजुलीको भुक्तानी रकम तिर्न बाँकी भए यस्तो अवस्था आउने प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोसको भनाइ छ ।
उनले भने, ‘यो सामान्य कुरा हो । बिजुलीको भुक्तानी रकम तिर्न बाँकी छ भने यस्तो हुन्छ । प्राधिकरणमा दिन प्रतिदिन यस्ता समस्याहरू धेरै आउने गरेका छन् । ती सबैको डाटा हामीसँग हुँदैन ।’
२०७२ कार्तिकबाट उक्त भ्यूटावर निर्माणको कार्य सुरु गरेको थियो । सो भ्यूटावर निर्माणको अनुमानित लागत ४ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।
यसमा काठमाडौं महानगरपालिकाले २०६८ सालमा पुरानो बसपार्क हटाएर सार्वजनिक-निजी साझेदारी मोडलमा बहुपयोगी व्यावसायिक कम्प्लेक्स बनाउने योजना अघि सारेको थियो ।
सोहीअनुसार टावर निर्माण र सञ्चालनको ठेक्का जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले पाएको थियो।
सो कम्पनीले भाडामा लिएको जग्गामा व्यावसायीक कम्प्लेक्स निर्माण गरी ३० वर्षसम्म प्रयोग गर्ने र त्यसपछि काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता पनि भएको थियो ।
सम्झौतामा २९ तले भ्यूटावर निर्माण गरिने उल्लेख गरिएको थियो । भ्यूटावर २९ तले भनिए पनि सुरुमा १२ तले बनाउने र पछि थप्दै जाने निर्माण कम्पनीको योजना रहेको थियो ।
१२ तलामध्ये दुईतले भूमिगत पार्किङ रहने छन्। ५ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको थियो ।
महानगरले खुलामञ्चको २३ रोपनी अर्थात् ११ हजार ८ सय ९० वर्गकिलोमिटर जग्गा वार्षिक ७० लाख रुपैयाँ भाडा बुझाउने गरी भ्यूटावर बनाउन सो कम्पनीसँग सम्झौता गरेको जनाइएको छ । भवन बनेपछि भने वार्षिक २ करोड ७० लाख रुपैयाँ महानगरले पाउने बताइएकाे छ ।