नन फायलर करदाता घट्दा बक्यौता सङ्कलन बढ्यो, कर नबुझाउनेको बैंक खाता र सम्पत्ति रोक्का

<p>काठमाडौं । वार्षिक आयकर विवरण र बक्यौता नबुझाउने करदातालाई लक्षित गरी आन्तरिक राजस्व कार्यालय हेटौँडाले अभियान चलाएपछि आयकर दाखिला नगर्ने करदाता (नन फायलर) करदाता घट्दै र बक्यौता सङ्कलन बढ्दै गएको छ । घरदैलो कार्यक्रम, एसएमएस, पत्रचाार तथा सङ्घ संस्थासँग नियमित अन्तरक्रियालगायतका कार्यक्रम सञ्चालन गरेपछि लामो समयदेखि आयकर दाखिला नगरी नन फायलर करदाता र बाँकी बक्यौता [&hellip;]</p>

काठमाडौं । वार्षिक आयकर विवरण र बक्यौता नबुझाउने करदातालाई लक्षित गरी आन्तरिक राजस्व कार्यालय हेटौँडाले अभियान चलाएपछि आयकर दाखिला नगर्ने करदाता (नन फायलर) करदाता घट्दै र बक्यौता सङ्कलन बढ्दै गएको छ । घरदैलो कार्यक्रम, एसएमएस, पत्रचाार तथा सङ्घ संस्थासँग नियमित अन्तरक्रियालगायतका कार्यक्रम सञ्चालन गरेपछि लामो समयदेखि आयकर दाखिला नगरी नन फायलर करदाता र बाँकी बक्यौता क्रमशः घट्दै गएको हो ।

कार्यालयबाट व्यवसायी करदाता प्रमाणपत्र (प्यान) लिएकामध्ये करिब ६५ प्रतिशतभन्दा बढी करदाताले लामो समयदेखि वार्षिक आय विवरण र बक्यौता नबुझाएपछि कार्यालयले त्यस्ता करदाताहरूको अभिलेख तयार पारेर अघि बढेको छ । वार्षिक आय विवरण नबुझाउनेमध्ये धेरैजसो उपभोक्ता समितिहरू, धार्मिक समिति, क्लबहरू छन् ।

‘आर्थिक वर्ष २०७९/८० र सो भन्दा अघिल्लो आवको आय विवरण नबुझाउने करदाता बढी छन्,’ प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदीले भने, ‘त्यसैले आय विवरण नबुझाउने करदाताको अभिलेख तयार पारेर अभियान सुरू गरेका छौँ ।’

पहिलो चरणमा घरदैलो कार्यक्रम, एसएमएस, पत्रचाार तथा उद्योग वाणिज्य सङ्घ, सुनचाँदी व्यवसायी सङ्घलगायतका सङ्घ संस्थासँग नियमित करदाता शिक्षा तथा अन्तरक्रियालाई अघि बढाइएको उनको भनाइ छ ।

प्रमुख कर अधिकृत सुवेदीका अनुसार चालु आव २०८१/८२ को असारसम्ममा ‘नन फायलर’को सङ्ख्या ३२ प्रतिशतमा झार्ने लक्ष्यका साथ सुरू गरिएको अभियानका कारण माघ महिनासम्ममा नन फायलनर करदाताको सङ्ख्या ५९ प्रतिशतमा झरेको छ । यस्तै केही महिनाअघिसम्म ६५ करोड रुपैयाँ बक्यौता सङ्कलन गर्न बाँकी रहेकोमा अभियान सञ्चालन भएपछि बक्यौता पनि ४५ करोड रुपैयाँमा झरेको प्रमुख कर अधिकृत सुवेदीले बताए ।

अभियानका क्रममा सो कार्यालयले अन्तःशुल्क ऐनअन्तर्गत इजाजत लिएका करदाताले साउन महिनाभित्र नवीकरण नगरेका २३९ करदातालाई एसएमएस पठाएको छ । यस्तै आयकर विवरण पेस नगरी नन फायलर रहेका १० हजार २०३ करदाताको मोबाइलमा एसएमएस पठाइएको प्रमुख सुवेदीको भनाइ छ ।

मूल्य अभिवृद्धि कर ऐनअनुसार विवरण पेस गरी १ लाखभन्दा बढी मूल्य अभिवृद्धि कर बक्यौता रहेका करदातालाई बक्यौता दाखिला गर्न एसएमएस पठाइएको उनले बताए । यसबाहेक मूल्य अभिवृद्धि करतर्फ नन फायलर रहेका करदातालाई मूल्य अभिवृद्धि कर विवरण पेस गर्न प्रत्येक महिनाको २६ गते फोन तथा पत्र पठाउने गरिएको उनले जनाए ।

यसका साथै ती करदाताको नामावलीसहित आय विवरण बुझाउन र बक्यौता असुलीका लागि पहल गरिदिन मकवानपुर जिल्लाको १० वटै पालिकालाई पत्राचार गरिएको प्रमुख कर अधिकृत सुवेदीले बताए । व्यावसायिक करदाता प्रमाणपत्र लिएकामध्ये कतिपय करदाताको मृत्यु भएको, कतिपय वैदेशिक रोजगारीमा गएको र कतिपयले व्यवसायी बिक्री गरिसकेको कारणले पनि समयमा आय विवरण नबुझाउने करदाताको सङ्ख्या बढी देखिएको हुनसक्ने उनको भनाइ छ ।

दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैंक खाता र सम्पत्ति रोक्का गरिने तयारी गरिएको प्रमुख कर अधिकृत सुवेदीले बताए ।

‘पटकपटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि कर बुझाउन आलटाल गर्ने करदातामाथि कारबाही अघि बढाउँछौँ, फागुन महिनासम्म छुट सुविधा पनि दिइएको छ, त्यो बेलासम्म धेरै कर बुझाउँछ भन्ने हाम्रो विश्वास छ, फागुन महिनासम्म पनि बक्यौता नबुझाउने करदाताको बैंक खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्का गरेका छौँ,’ उनले भने ।

लक्ष्यको ८१.४४ प्रतिशत राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आव २०८१÷८२ को सात महिनाको अवधिमा ३ अर्ब ७० करोड ९१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ८१.४४ प्रतिशत सङ्कलन भएको हो । कार्यालय प्रमुख सुवेदीका अनुसार चालु आव २०८१÷८२ को सात महिनाको अवधिमा ४ अर्ब ५५ करोड ४२ लाख ९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा ३ अर्ब ७० करोड ९१ लाख ४२ हजार रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको छ ।

यही साउनदेखि माघ महिनासम्मको अवधिमा अन्तशुल्कतर्फ २ अर्ब १२ कारेड १६ लाख २९ हजार रुपैयाँ, आयकरतर्फ ६५ करोड ५८ लाख ८१ हजार रुपैयाँ, मूल्यअभिवृद्धि करतर्फ ५० करोड ४७ लाख ९३ हजार रुपैयाँ, स्वास्थ्य जोखिम करतर्फ ३५ करोड ६७ लाख ३१ हजार रुपैयाँ, ब्याजकरतर्फ ५ करोड ९१ लाख ३ हजार रुपैयाँ र बहालकरतर्फ १ करोड १० लाख ६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख सुवेदीले बताए ।

प्रमुख सुवेदीका अनुसार चालु आव २०८१÷८२ मा ८ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य छ । सो कार्यालयमा आयकरतर्फ ३३ हजार ५९६, मूल्य अभिवृद्धितर्फ ५ हजार ८४९, अन्तशुल्कतर्फ १ हजार ५९८, ‘विथहोल्ड’तर्फ ७११ र व्यक्तिगततर्फका ८१ हजार ८१२ करदाता रहेका छन् ।

पछिल्लो समय मुलुकमा आर्थिक कारोबार बढ्नु, बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा सहजता हुनु, कर नीतिमा सुधार हुनु, नियमित बजार अनुगमन, करदाता शिक्षा सञ्चालन तथा बाँकी बक्यौता असुलीमा गरिएको कडाइजस्ता कारणले राजस्व सङ्कलनमा वृद्धि भएको प्रमुख सुवेदीको भनाइ छ ।

Share News