काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सम्पत्ति शुद्धीकरणको मामिलामा जोखिमयुक्त मुलुकमा सूचीकृत भई अन्तर्राष्ट्रिय अनुगमनमा जानसक्ने सम्भावना रहेको बताएका छन् ।
सोमबार सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सम्पत्ति शुद्धीकरणको मामिलामा अनुगमन गर्ने निकाय, फाइनान्सियल एक्शन टास्क फोर्सको एशिया प्यासिफिक ग्रुप (एपीजी)ले नेपाल जोखिमपूर्ण मुलुक (ग्रे लिष्ट)मा जाने अवस्था देखाएको बताए ।
उनले आर्थिक अपराध नियन्त्रणमा नेपालको प्रयासलाई एपीजीले उच्च, राम्रो, मध्यम र न्यून भनि वर्गीकरण गर्दा नेपाल ग्रे लिस्टमा पर्ने सम्भावना रहेको बताए ।
एफएटीएफले सम्पत्ति शुद्धीकरण गैरकानूनी क्रियाकलाप निवारण गर्ने उद्देश्यका साथ निर्धारण गरेका अन्तर्राष्ट्रिय मापदण्ड पूरा नभएको आधारमा एपीजीले सम्पत्ति शुद्धीकरणको कालोसूचीमा लैजाने उनको भनाइ थियो ।
उनले एफएटीएफको फेब्रुअरी १७ देखि २१ सम्म हुने मूल्याङ्कनमा नेपालका सबै रिपोर्ट हेरेर ग्रे लिस्टमा राख्ने नराख्ने निर्णय हुने बताए । उनले नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा समावेश भयो भने पनि चाँडै बाहिर निस्कने धेरै आधारशिलाहरु बनेको उल्लेख गरे ।
उनले आवश्यक कानुन, नियमावलीहरु बनिसकेको बताए । उनले सम्बन्धित निकायहरुले सम्पत्ति शुद्धीकरण निवारणको लागि प्रभावकारी रुपमा कार्यान्वयनमा जान आवश्यक रहेको बताए । नियमनकारी निकायहरुले जोखिमका ठाँउहरु पत्ता लगाएर जोखिम न्यूनीकरण गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।
उनले नियमनकारी निकायहरुले समन्वयात्मक रुपमा काम गरे ग्रे लिस्टमा परे पनि चाँडै बाहिर आउनसक्ने उल्लेख गरे । क्यास कारोबार बढी जोखिमयुक्त कारोबार भएकाले नेपालमा थ्रेस होल्ड तोकिएको उनको भनाइ थियो ।
यस्तै, उनले पछिल्लो दिनहरूमा डिजिटल कारोबारहरु बढ्दै गएको भन्दै त्यसमा प्रशस्त मात्रामा फल्डहरू हुने र टेक्नोलोजी एडभान्समेन्टको फलस्वरूप क्रिप्टोलगायतमा आफ्नो सम्पत्तिहरु लैजाने प्रयोगहरु बढ्न थालेको बताए ।
उनले विश्वभर यस्ता जोखिमहरुलाई नयाँ किसिमले समाधान गदै जानुपर्ने अवस्था रहेको बताए । नेपालमा क्रिप्टो करेन्सीलाई पनि जोखिम मानेर निगरानीमा राखेको उनको भनाइ थियो ।
‘क्यास कारोबार बढी जोखिम युक्त कारोबार हो । त्यसैले थ्रेस होल्ड तोकिएको छ । पछिल्लो दिनहरुमा डिजिटल कारोबारहरू बढ्दै गएको छ,’ उनले भने, ‘त्यसमा पनि प्रशस्त मात्रामा फल्डहरू हुने र टेक्नोलोजि एडभान्समेन्टको फलस्वरुप क्रिप्टो लगायतमा आफ्नो सम्पत्तिहरू लैजाने प्रयोगहरु बढ्न थालेका छन् ।’
उनले पछिल्लो समय नयाँ–नयाँ रुपमा जोखिमहरु आइरहेको भन्दै त्यस्ता जोखिमलाई न्युनिकरण गर्न लाग्नुपर्नेमा जोड दिए । गैरकानूनी हिसावमा सम्पत्ति आर्जन गर्नेलाई कडा कारबाही हुनुपर्ने जानकारी दिए ।