काठमाडौँ । बीपी राजमार्ग पुनः अवरुद्ध भएको छ । बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध रहेको बीपी राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने भनिए पनि सख्खा पहिरो खसेपछि पुनः अवरुद्ध भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक सञ्जालाल फेसबुकमार्फत सो राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने जानकारी दिएका थिए । तर, शुक्रबार राजमार्गको रोशी गाउँपालिका–११ बुलढुङ्गामा सुख्ख पहिरो जाँदा सुमो र बस पुरिएका छन् ।
यस्तै सुख्खा पहिरोले बाटो खुलाउन प्रयोग गरिएको एउटा जेसीबीमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । कार्यलयका अनुसार सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई पहिरोले रोशी खोलामा खसालेको छ ।
त्यस्तै खोटाङबाट काठमाण्डौँतर्फ आउँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमोलाई पहिरोले पुरेको छ । घटनामा मानवीय क्षति भने भएको छैन ।
असोज ११ र १२ गतेको बाढीपहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पुर्याएको थियो ।