
काठमाडौं । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड स्थापनाले ५४औं वार्षिकोत्सव मनाएको छ ।
कम्पनीका अध्यक्ष छपिराज पन्तको सभापतित्व एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा ५४औं वार्षिकोत्सव मनाइएकाे हाे ।
नयाँ बानेश्वरस्थित द एभरेष्ट होटलमा आयोजित वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि मन्त्री भण्डारीले ५४औं वर्षको समय अवधिमा कम्पनीले धेरै आरोह अवरोध पार गरेको बताए । कम्पनीले आगामी दिनमा बिजनेश प्लान बनाएर अघि बढ्नुपर्ने धारणा मन्त्री भण्डारीले राखे ।
‘कम्पनीको क्षेत्राधिकारलाई उन्नत बनाउनु पर्छ । लामो समय काम गरेका साथीहरू हुनुहुन्छ । अरू साझेदार संस्थाहरू पनि छन् । ठोस कार्ययोजना बनाएर अघि बढ्नुको विकल्प छैन,’ उनले भने, ’अहिलेकै स्थितिमा लिएको लक्ष्य पूरा गर्न सम्भव छैन । थुप्रै चुनौती, जटिलता छ यसलाई चिरेर जानुपर्छ । अब व्यावसायिकतातर्फ अघि बढ्नुपर्छ । मन्त्रालय साथमा छ ।’
त्यस्तै, कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले कम्पनीले थप सेवा विस्तार गर्नेपर्नेमा जोड दिए । कम्पनीलाई चुस्त दुरुस्त बनाउन सबैको साथ, सहयोग आवश्यक रहेको बताउँदै उनले संस्थागत पुर्नसंरचना गरी शाखा पनि बिस्तार गर्नुपर्नेमा उनले जोड दिए ।
कम्पनीका अध्यक्ष छपिराज पन्तले स्थापनाको ५४औं वर्षमा आइपुग्दा कम्पनी संचालन, व्यवस्थापन र कार्य सम्पादनलाई सहज र प्रभावकारी बनाउने यात्रामा निरन्तर सहयोग, समन्वय र सहकार्य गर्ने निकायहरूप्रति हार्दिक आभार व्यक्त गरे ।
आगामी दिनमा कम्पनीले नेपालको आयात निर्यात व्यापार, गोदाम सञ्चालन एवं पारवहन सहजीकरणको क्षेत्रमा अझै विशिष्ट र परिष्कृत भूमिका खेल्ने प्रतिवद्धता जनाए ।
कम्पनीलाई थप गतिशील र विस्तारित बनाउन सम्पूर्ण सरोकारवालाहरूको रचनात्मक सहयोग र सहकार्यको अपेक्षा रहेको अध्यक्ष पन्तले बताए ।
त्यस्तै, कार्यक्रममा कम्पनीका महाप्रबन्धक प्रकाशप्रसाद पोखरेलले व्यावसायिक योजना निमार्ण गरी कम्पनीलाई अघि बढाउने बताए ।

हल्दियास्थित लिज जमिनमा कोइला भण्डारका लागि पूर्वाधार निमार्ण सुरुवात गर्ने, कोलकत्ता पोर्टस्थित लिज जमिनमा पूर्वाधार निमार्णमा नीजि लगानी साझेदारी आव्हान गर्ने, कोलकत्तादेखि नेपालसम्म ट्रक ढुवानी सेवा सञ्चालनका लागि बिजनेश मोडल तयार गर्ने योजना रहेको बताए ।
वार्षिकोत्सवको अवसरमा दुई जना कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको छ । ३७ वर्षदेखि संस्थामा कार्यरत हरिनारायण चौधरी र ३६ वर्षदेखि कार्यरत नरेन्द्र चौधरी सम्मानित भएका छन् । त्यस्तै, आयात र निर्यातमा उल्लेख्य योगदान गर्ने ५ वटा संस्थालाई सेवाग्राही सम्मान प्रदान गरिएको थियो ।
नेपालबाट समुद्रपारका मुलुकहरुमा निकासी हुने तथा ती मुलुकहरूबाट पैठारी हुने सामानहरूको निमित्त पारवहन सम्बन्धी सेवा सुविधाहरू प्रदान गर्ने उद्देश्यले २०२८ भाद्र ३० गते कम्पनीको स्थापना भएको थियो ।
भारतको कम्पनी ऐन, १९५६ अन्तर्गत विदेशी कम्पनीको रूपमा भारतमा समेत दर्ता भइ निरन्तर सेवा प्रवाह गर्दै आएको यस कम्पनीको केन्द्रीय कार्यालय, शाखा र उपशाखा गरी ८ वटा कार्यालयमार्फत सेवा प्रवाह गरिरहेको छ ।
आयात/निर्यात व्यापारमा सुविधा उपलव्ध गराई नेपालको अर्थ व्यवस्थाको विकासमा टेवा दिने, आयात/निर्यात व्यापारमा पारवहन सम्वन्धि सुविधाहरूमा वृद्धि र खर्चमा स्थिरता ल्याउने किसिमसँग आफ्नो कारोवार सञ्चालन गर्ने, सरकारी र गैरसरकारी जुनसुकै ग्राहकहरूलाई आवश्यक सुविधा तथा सेवा उपलव्ध गराउने उद्देश्यले यस कम्पनीको स्थापना गरिएको थियो ।
त्यस्तै, आधिकारीक निकायको स्वीकृति र सहमतिले प्रचलित कानूनको अधिनमा रही आयात/निर्यात व्यापारको लागि सुविधाजनक गोदाम घर पूर्ण रूपमा वा आंशिक रूपमा सञ्चालन गर्ने र नेपालको सामान राख्ने गोदाम घर वा क्षेत्रबाट नेपालको लागि हुने वा नेपालबाट निर्यात हुने मालसामानको पारवहनमा सुविधा एवं सेवा उपलव्ध गराउने गरी कम्पनीको स्थापना भएको थियो ।
काठमाडौंको बालुवाटारमा प्रधान कार्यालय रहेको कम्पनीको कोलकाता, काँकडभिट्टा, वीरगञ्ज शाखा, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शाखा कार्यालय रहेको छ । त्यस्तै, हल्दिया र राधीकापुरमा उपशाखा रहेको छ । कम्पनीले यी कार्यालयमार्फत कम्पनीले क्लियरिङ्ग (भन्सार दस्तावेजीकरश, शुल्क र कर गणना र भन्सार क्लियरेन्स), फारवार्डिङ्ग (यातायातको समन्वय, यातायातको दस्तावेजीकरण, कार्गो ह्यान्डलिङ र गोदाम) र अन्डरटेकिङ्ग सेवा प्रदान गर्दै आएको कम्पनीका महाप्रबन्धक प्रकाश प्रसाद पोखरेलले जानकारी दिए ।
आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ३० करोड २२ लाख आम्दानी गरी २६ करोड ११ लाख खर्च गरेको छ । कम्पनीले यस आवमा ४ करोड ११ लाख खुद नाफा आर्जन गरेको छ । कम्पनीसँग ५४ करोड ३८ लाख रुपैयाँ सञ्चित नाफा रहेको महाप्रबन्धक पोखरेलले जानकारी दिए ।
कम्पनीले चालू आर्थिक वर्ष २०८१/८२ मा थप सेवाक्षेत्र विस्तार गर्ने वार्षिक नीति तथा कार्यक्रमहरू निमार्ण गरेको छ । कम्पनीले भारतको कोलकाता/हल्दिया र वीरगञ्जज/रक्सौलमा दीर्घकालीन लिजमा लिएका जमिनको व्यावसायिक प्रयोग गर्न आवश्यक पूर्वाधार निर्माणमा जोड दिँदै सञ्चालन तथा व्यवस्थापन साझेदारी सम्बन्धी कार्यविधिगत प्रबन्ध गरिने जनाएको छ ।
कम्पनीले परम्परागत रूपमा सञ्चालन गरिरहेका व्यापार सहजीकरणसँग सम्बन्धित लजिस्टिक सेवाहरूकाे प्रकृतिमा आएको परिवर्तनलाई आत्मसात गर्दै नयाँ व्यावसायिक अवसरहरूको खोजीका लागि आवश्यक अध्ययन र परामर्श गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।