सांसदहरूको एकैस्वर : ६० लाख लगानीकर्ताको लगानी संरक्षण हुनेगरी बोर्ड जिम्मेवार हुनुपर्छ

<p>बायाँबाट क्रमश : सांसदहरू वर्षमान पुन, विनोद चौधरी र पदम गिरी काठमाडौं । धितोपत्र बोर्डले ६० लाख लगानीकर्ताको लगानी संरक्षण हुनेगरी जिम्मेवार भएर काम गर्नुपर्ने सांसदहरूले बताएका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै अधिकांश सांसदहरूले यस्तो बताएका हुन् । सांसदहरूले धितोपत्र बोर्डलाई राज्यले विश्वास गरेर पुँजीबजार लगानीकर्ताको हित र संरक्षण गरी लगानी सुरक्षित [&hellip;]</p>

बायाँबाट क्रमश : सांसदहरू वर्षमान पुन, विनोद चौधरी र पदम गिरी

काठमाडौं । धितोपत्र बोर्डले ६० लाख लगानीकर्ताको लगानी संरक्षण हुनेगरी जिम्मेवार भएर काम गर्नुपर्ने सांसदहरूले बताएका छन् ।

आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै अधिकांश सांसदहरूले यस्तो बताएका हुन् ।

सांसदहरूले धितोपत्र बोर्डलाई राज्यले विश्वास गरेर पुँजीबजार लगानीकर्ताको हित र संरक्षण गरी लगानी सुरक्षित गर्ने नियामक निकायका रूपमा जिम्मेवारी लिएको भन्दै त्यहीअनुसार जिम्मेवार हुन नसकेको उल्लेख गरे ।

उनीहरूले धितोपत्र बोर्डले विगतमा गरेका कामले लगानीकर्ताको विश्वास गुम्दै गएको भन्दै जिम्मेवार भएर बोर्डले लगानीकर्ताको विश्वास जित्न सक्नुपर्नेमा जोड दिए ।

सांसदहरूले धितोपत्र बोर्डको ऐनमा तजबिजी बढी भएकाले पनि धेरै बेतिथिहरू आउने गरेको उल्लेख गरे ।

अब धितोपत्र बोर्डमा तजबिजी भन्दा पनि ऐन र नियमावलीले लिएका निश्चित अधिकारबाट चल्न समितिले निर्देशन दिनुपर्ने सांसदहरूको भनाइ छ ।

समिति बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद एवम पूर्वअर्थमन्त्री वर्षमान पुनले लेखा समितिले उठाएको विषय पुँजीबजारमा आइपीओ जारी गर्ने क्रममा चलखेल भएको गुनासो आउँदा आवश्यक व्यवस्था गर्न समितिले निर्देशन गरेको देखिएको बताए । उनले आईपीओ निकाल्दा चलखेल हुने नहुने विषयमा धितोपत्र बोर्ड जिम्मेवार हुनुपर्ने बताए ।

नेकपा (माओवादी केन्द्र) का सांसद एवम पूर्वअर्थमन्त्री वर्षमान पुन ।

उनले भने, ‘राज्यले विश्वास गरेर नियामकमा सक्षम व्यक्तिहरू राखेपछि ६० लाख पुँजीबजार लगानीकर्ताहरूको लगानीलाई सुरक्षित गर्ने, पुँजीबजारलाई प्रतिष्पर्धी ठाउँ बनाउने नियामक निकायको भूमिका हुन्छ ।’

उनले लगानीकर्ताले नियामक प्रतिको विश्वास गुम्नु भनेको राज्यप्रतिको विश्वास गुमाउनु भएको उल्लेख गरे ।

सांसद पुनले विगतका आईपीओ निष्काशनका सन्दर्भमा समितिले निर्देशन दिनुपर्ने अवस्थाका विषयमा धितोपत्र बोर्डले जिम्मेवारीपूर्वक लगानीकर्ताहरुको हितलाई संरक्षण गर्नुपर्ने बताए ।

उनले प्राथमिक सेयर जारी गर्दा दोहोर्‍याएर कम्पनीहरूको पुनःमूल्यांकन गर्ने नियमावली संशोधन काम गरिएको उल्लेख गरे ।

उनले भने, ‘त्यो चलखेल नै थियो । त्यो विषयमा बोर्डले ध्यान दिओस् । पुनः कम्पनीहरूको मूल्यांकन गरेर घाटामा गएका कम्पनीहरु आईपीओ जारी गरेर जनताको पैसा उठाएर कम्पनी घाटामा चल्दैछन् । को जिम्मेवार हुने हाे ? राज्य जिम्मेवार हुनुपर्छ । यो अवस्था आउन दिनुहुँदैन । लेखा समितिले उठाएको विषय सही छ ।’

नेकपा एमालेका सांसद पदम गिरीले पनि धितोपत्र बोर्ड अर्थ समितिको क्षेत्राधिकार भित्र पर्ने बताए । उनले अर्थ समितिले नीतिगत कुराहरुमा छलफल गर्ने र लेखा समितिले अनियमितता विषयमा हेर्ने भएकाले त्यहीअनुसार निर्देशन भएको देखिएको बताए ।

नेकपा एमालेका सांसद पदम गिरी ।

उनले नियमावली नै संशोधन गरेर पुनःमूल्यांकन गर्ने कम्पनीहरूको मूल्य बढाएर आईपीओ जारी गर्दा लगानीकर्ताहरु मर्कामा पर्ने गरेको देखिएको बताए ।

सांसद गिरीले भने, ‘नियमावली संशोधन गर्दा राजपत्रिका प्रकाशित गर्नुपर्ने थियो । त्यहाँ पनि जारी भएको छैन । वास्तवमा सर्वसाधारण सूचनाको हकबाट समेत बन्चित भएको अवस्था छ । यसलाई गम्भीर रूपमा हेर्नुपर्छ ।’

उनले नेटवर्थ ९० प्रतिशत भन्दा माथि वा तल भन्ने विषयमा समितिमा गम्भीर रूपमा छलफल गर्नु आवश्यक रहेको बताए । उनले घाटामा रहेका कम्पनीहरूको आईपीओ जारी गर्न दिँदा शेयर लगानीकर्तालाई ठूलो असर पर्ने गरेको उल्लेख गरे ।

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले धितोपत्र बोर्ड र नेप्सेको रिफर्म आवश्यक रहेको बताए । उनले अन्तर्राष्ट्रिय नियमायक निकायहरुले अपनाएका अभ्यास र कानून हेरेर सेबोन र नेप्सेलाई रिफर्म गर्ने नीति बनाउन आवश्यक रहेको बताए ।

नेपाली कांग्रेसका सांसद विनोद चौधरी ।

उनले पुँजीबजारमा सुधारको लागि लगानी संरक्षण र सुरक्षित गर्ने नीति आवश्यक रहेको उल्लेख गरे । उनले पुँजीबजारमा जति सक्दो लगानी भित्र्याउन सक्नुपर्ने धारणा राखे ।

सांसद चाैधरीले भने, ‘आन्तरिक तथा बाह्य कम्पनीहरूलाई कसरी पुँजीबजारमा ल्याउने भन्ने सोंच्नुपर्छ । यो नेपालमा मात्रै सुरुवात गरेका हैनौं । विश्वका विभिन्न देशमा धितोपत्र बजारको प्रयोग सफल भएका देशहरू पनि छन् । नयाँ ऐनका कुराहरू आइरहेका छन् । त्यसमा धितोपत्र बोर्ड र नेप्सेलाई ओपन गर्नुपर्छ ।’

उनले धितोपत्र बोर्डमा अहिलेसम्म धेरै चलखेलमा चल्ने गरेको भन्दै यस्ता खालका चलखेलले सधैं लगानीकर्तामा आत्मबलको कमी ल्याउने बताए ।

उनले पुँजीबजारमा कम्पनीको शेयर तल माथि हुनु स्वाभाविक भएको बताए ।

उनले भने, ‘नेपालकै स्टक मार्केट १८ सयमा रहेको केही दिन बढेर ३० हजारमा पुग्यो, अहिले फेरि २६ सयमा झरेको छ । नेटवर्थ समाएर बसेर यहाँभन्दा माथि जान दिन भनेर समाएर बसेर हुँँदैन । बजार घटबढ हुनु भनेको मार्केट सेन्टिमेन्टको कुरा पनि हो ।’

त्यस्तै, धितोपत्र बोर्डका अध्यक्ष महेश बरालले लामो समयसम्म रोकिएर बसेको आइपीओ निष्कासन स्वीकृतको प्रक्रिया अघि बढ्ने भएको बताए । उनले अब आइपीओ निष्कासनका लागि पाइपलाइनमा रहेका कम्पनीको आइपीओ फाइल अगाडि बढाउने बताए । उनले नेटवर्थ ९० भन्दा कम भएका कम्पनीहरूको हकमा भने पर्ख र हेरको अवस्थामा नै रहेको बताए ।

धितोपत्र बोर्डका अध्यक्ष महेश बराल ।

अध्यक्ष बरालले कम्पनीहरूको वित्तीय अवस्था अध्ययन गरेर स्वीकृतका लागि अगाडि बढाइएको जानकारी दिए । उनले वित्तीय अवस्थामा कमजोरी भएका कम्पनीहरूलाई बोर्डले थप अध्ययन र परीक्षण गरेर मात्रै निर्णय लिने योजना बनाएको पनि बताए ।

Share News