
राष्ट्रियसभाको आइतबार बसेको बैठकमा सहभागीहरू । तस्बिर: रत्न श्रेष्ठ/रासस
काठमाडौं । राष्ट्रियसभाको आइतबारको बैठकमा सांसद तुलसाकुमारी दाहालले हवाई व्यवस्थापन गर्न बन्न लागेका ‘नेपाल हवाई सेवा प्राधिकरण, २०७६’ र ‘नेपाल नागरिक उड्डयन विधेयक, २०७६’ यथाशीघ्र ल्याउनुपर्नेमा जोड दिएकी छन् ।
आजको बैठकको शून्य समयमा सांसद दाहालले राष्ट्रियसभाले २०७८ साउन १८ गते छलफल गरी प्रतिनिधिसभामा उक्त दुई विधेयक पठाएको जानकारी गराउँदै प्रतिनिधिसभाको अघिल्लो समयावधि सकिएकाले ती विधेयक शून्यमा गएको भन्दै चिन्ता व्यक्त गरिन् ।
नेपालमा हालसम्म ७१ पटक हवाई दुर्घटना भएको जानकारी दिँदै हवाईसम्बन्धी महत्त्वपूर्ण मानिएका दुई विधेयक यथाशीघ्र ल्याएर कार्यान्वयन गर्नुपर्ने सांसद दाहालले उल्लेख गरिन् ।
‘यी दुई विधेयकमाथि कहिले छलफल हुन्छ र कार्यान्वयनमा आउँछ?,’ उनले प्रश्न गरिन् ।
सांसद गङ्गाकुमारी बेल्बासेले उपसभामुख इन्दिरा रानाले माफी मागिसकेको अवस्थामा उक्त विषयमा फेरि सदनमा उठाउनु गलत रहेको धारणा राखिन् ।
सांसद गोपीबहादुर सार्की अछामीले महाप्रबन्धक नहुँदा उदयपुर सिमेन्ट कारखाना सञ्चालनमा समस्या आएको भन्दै पूर्वाञ्चल विश्वविद्यालयमा तीन सय शय्याको अस्पताल र मेडिकल सञ्चालन गर्न अनुपतिपत्र दिनुपर्ने विषयमा सरकारसमक्ष निवेदन गरे ।
सांसद मायाप्रसाद शर्माले मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोट खण्ड र चौझारी खण्डको पुल मर्मत गर्न सरकारलाई ध्यानाकर्षण गराए ।
सांसद सुमित्रा विसीले तरकारी र फलफूलमा विषादी प्रयोग भइरहेकाले जनस्वास्थ्यमा असर परेको विषयमा कृषि मन्त्रालयलाई ध्यानाकर्षण गराउँदै समस्या समाधानको पहल गर्न आग्रह गरिन् ।