
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल । फाइल तस्बिर ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आयात हुने मालवस्तुको मूल्यांकनका लागि बजार सर्वेक्षण गरी संकलित सूचनाको आधारमा भन्सार प्रणाली विकास गर्ने व्यवस्थाले निजी क्षेत्रमा अन्याैलता सिर्जना भएको बताएका छन् ।
बिहीवार काठमाडौंमा भन्सार विभागको कार्यक्रममा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् ।
अध्यक्ष अग्रवालले आर्थिक वर्ष २०८१/०८२ को लागि पारित आर्थिक ऐनमा आयात हुने मालवस्तुको मूल्यांकनका लागि बजार सर्वेक्षण गरी संकलित सूचनाको आधारमा भन्सार प्रणाली विकास गर्ने व्यवस्थाले निजी क्षेत्रमा अन्याैलता सिर्जना भएको बताए ।
उनले डब्लुटिओलगायत अन्य प्रचलित अभ्यासअनुसार कारोबार मूल्यलाई मान्यता दिनुपर्ने बताए ।
उनले एलसी खोलेर आयातित वस्तु, एजेन्सीमार्फत आयातित वस्तु, मल्टीनेशनल कम्पनीमार्फत आयातित वस्तु, जेएस्टीको बिलबाट भारतबाट आयातित वस्तु, प्रतिष्ठित कम्पनीमा आयातित वस्तुमा कारोबार मूल्य बिल मूल्यलाई नै आधार बनाएर सामानको जाँच पास गर्न आग्रहसमेत गरे ।
अध्यक्ष अग्रवालले अन्य कुनै वस्तुमा न्युन बिजीकरणको शंका भएमा भन्सार बिन्दुमा नै नियमअनुसार सामान खरिद गर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न पनि आग्रह गरे ।
खुला सीमानाका कारण हाल बढिरहेको चोरी पैठारीका कारण सीमानाका बजार सुकेको र सीमा पारी धेरै व्यापार बढेको उनकाे भनाइ छ ।
उनले अर्थ मन्त्रालयले चोरी पैठारी नियन्त्रण गर्न लिइएको रणनीति सह्रानीय रहेको बताए ।
चोरी पैठारी नियन्त्रण गर्न हाल विद्यमान उच्च भन्सार दरबन्दीलाई घटाउँदै लैजानुपर्ने र ४० प्रतिशतको भन्सार दरबन्दी खारेज गर्नुपर्नेमा उनले जाेड दिए ।
अध्यक्ष अग्रवालले व्यापार सहजीकरण गरी व्यपार अभिवृद्धि गर्नु आजको आवश्यकता भएको पनि बताए ।