काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले समग्र अर्थतन्त्र दवावमा रहेकाे बताएका छन् । बिहीबार भन्सार व्यवस्था गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले सरकारले धेरै आर्थिक दायित्व भुक्तानी गर्नुपर्ने अवस्था रहेको भन्दै राजश्व संकलनमा सचेत रहन भन्सार र आन्तरिक राजस्व विभागलाई निर्देशन दिए । उनले राजश्व लक्ष्यअनुसार राजश्व संकलनमा ध्यान दिन भनेका हुन् ।
लक्ष्यअनुसार राजश्व संकलन नहुने हो कि भन्ने कुराले आफूलाई चिन्तित बनाएको भन्दै अर्थमन्त्री पाैडेलले राजश्वले लक्ष्य प्राप्त नगरेमा दावित्व भुक्तान गर्न कठिन हुने बताए ।
उनले राजश्व परिचालन सन्दर्भमा कुनै कम्प्राेइज नगर्न पनि निर्देशन दिएका छ्न् ।
कार्यक्रममा भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले भन्सार व्यवस्था सुधार र त्यसकाे चुनौतीका बारेमा जानकारी गराएका थिए ।
यस्तै, निजी क्षेत्रको तर्फबाट प्रतिनिधित्त्व गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले भन्सारसम्बन्धी नीतिका केही व्यवस्थाले व्यावसायीलाई निरुत्साहित गरेको उल्लेख गर्दै त्यसकाे सुधार गर्नका लागि अनुरोध गरेका थिए ।