काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले राजदूत सिफारिस समावेशी नभएकोमा माफी मागेकी छिन् । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको मंगलबारको बैठकमा यसबारे सांसदहरूले प्रश्न उठाएका थिए ।
त्यसको जवाफमा राणाले भनिन्, ‘राजदूत नियुक्ति समावेशी भएन, अर्को नियुक्तिमा दलित र मुस्लिमलाई ल्याउने छौं, यसपटक समावेशी भएन, आईएम सरी।’
१८ मुलुकका लागि राजदूत प्रस्ताव गर्दा दलित, मधेशी र मुस्लिम समुदायबाट शून्य प्रतिनिधित्व रहेको भन्दै प्रश्न उठिरहेको छ । यसैबीच अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले समावेशिताबारे आगामी दिनमा ख्याल गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
समितिले ‘नेपालको संविधानको प्रस्तावना, धारा ४२ र धारा २८२ को व्यवस्था र राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५ लाई मध्यनजर गरी नेपाल सरकारले आगामी दिनमा विभिन्न मुलुकका लागि नेपाली राजदूतको पदमा सिफारिस गर्दा समानुपातिक समावेशी सिद्दान्तलाई ध्यान दिई सिफारिस गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने’ निर्णय गरेको हो ।
संसदीय सुनुवाइ समितिमा पनि राजदूत सिफारिस समावेशी नभएकोबारे सांसदहरुले प्रश्न उठाएका थिए ।