टीआरसी विधेयक पारित भएकोमा अमेरिका, ईयूसहित १० देशले गरे स्वागत

<p>काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी (टीआरसी) विधेयक दुवै सदनबाट पारित भएकोमा अमेरिका, यूरोपियन युनियन (ईयू) सहित विभिन्न देशले स्वागत गरेका छन् । टीआरसी विधेयक नेपालको दुवै सदनबाट सर्वसम्मत रूपमा पारित भएकोमा अमेरिका, स्विट्जरल्यान्ड, अस्ट्रेलिया, बेलायत, नर्वे, जापान, फिनल्यान्ड, जर्मनी, फ्रान्स र युरोपियन युनियनले स्वागत गरेका हुन् । उनीहरूले बिहीबार [&hellip;]</p>

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी (टीआरसी) विधेयक दुवै सदनबाट पारित भएकोमा अमेरिका, यूरोपियन युनियन (ईयू) सहित विभिन्न देशले स्वागत गरेका छन् ।

टीआरसी विधेयक नेपालको दुवै सदनबाट सर्वसम्मत रूपमा पारित भएकोमा अमेरिका, स्विट्जरल्यान्ड, अस्ट्रेलिया, बेलायत, नर्वे, जापान, फिनल्यान्ड, जर्मनी, फ्रान्स र युरोपियन युनियनले स्वागत गरेका हुन् ।

उनीहरूले बिहीबार संयुक्त विज्ञप्ति निकालेर पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पुर्‍याउने सम्भावित संयन्त्रहरूको खोजी गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

‘भविष्यमा चाल्नुपर्ने सम्भावित कदमहरूको सम्बन्धमा मूल्यांकन गर्न सकियोस् भनी हामी निम्नानुसारका हस्ताक्षरकर्ताहरू सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई प्रभावकारी रूपमा काम गर्न सघाउन के-कस्ता विशेष आवश्यकताहरू छन् भन्ने विषयमा नेपाल सरकारबाट जान्न तत्पर छौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

नेपालको इतिहासको यो खण्डलाई सफल निष्कर्षमा पुर्‍याउन सबै सरोकारवाला एकजुट भएर लाग्नुपर्ने बेला आएको  पनि संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

संघीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पाैडेल समक्ष सो विधेयक पेस भएको थियो । बिहीबार राष्ट्रपति पौडेलले उक्त विधेयक प्रमाणीकरण गरेका छन् ।

Share News