काठमाडौं । सर्वोच्च अदालतले उमेरहद अनुसार आफूहरूलाई अवकाशमा नपठाउन अन्तरिम आदेश माग गर्दै ५ प्रहरी अधिकारीले दायर गरेको रिटमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।
न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको हो ।
रिट निवेदक प्रहरी अधिकारीले मागेअनुसार अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीसँग लिखित जवाफ मात्र माग गरेको हो ।
दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाश कार्यान्वयन नगर्न माग गर्दै एआईजी श्यामलाल ज्ञवाली, डिआइजीहरू यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बास्तोला र इन्सपेक्टर नागेन्द्र ठाकुरले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
उनीहरू पदअनुसारको उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । तर, अवकाशमा जान नचाहेर ३० वर्षे सेवा हद कायम नहोस् भन्दै उनीहरूले रिट हालेका हुन् ।