काठमाडौं । सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष गणेशबहादुर विश्वकर्मा नेकपा एकीकृत समाजवादीको सचिव बनेका छन् । पार्टीको पदाधिकारीको लागि मंगलबार भएको निर्वाचनमा उनी दलित कोटाबाट सचिवमा निर्वाचित भएका हुन् ।
उनले १८० मत प्राप्त गरेर निरादेवी जैरु र कृष्ण नेपालीलाई पराजित गरेका हुन् । जैरु र नेपालीले क्रमशः १०५ र २७ पाए ।
योजना आयोगजस्तो प्रतिष्ठित संस्थाको कार्यकारी भूमिकामा रहेका विश्वकर्माले प्रत्यक्ष रुपमा राजनीति गरेर पार्टीको पदाधिकारीमा निर्वाचित भएका हुन् । सुदूरपश्चिमको अघिल्लो सरकारले उनलाई उपाध्यक्षमा नियुक्त गरेको थियो ।
अहिले नयाँ सरकार आएपछि उनले राजीनामा दिएको बुझिएको छ । तर, राजीनामा स्वीकृति भइसकेको छैन । हाल काठमाडौंमा बस्दै आएका बझाङका उनी झण्डै अढाइ दशकदेखि मानवधिकारको क्षेत्रमा क्रियाशील छन् ।