काठमाडौं । नेपालमा विकासले जलवायुको संकट ल्याइरहेको युवाहरूले बताएका छन् । सिविस नेपालले आयोजना गरेको ‘युवाहरूको वातावरणीय अधिकार र जलवायु संरक्षणसम्बन्धी सांसदहरूसँग नीति संवाद’ कार्यक्रममा बोल्दै युवाहरूले बलियो नीति नहुँदा विकासले विनाश निम्त्याएको बताएका छन् ।
उनीहरूले वातावरणलाई सरकारले प्राथमिकता नदिएको बताउँदै नेपालमा संकट बढिरहेकाले सांसदहरूको ध्यानाकर्षण गराएका छन् ।
रामेछापका मदन खड्काले वातावरणीय अधिकार जलवायु संरक्षणमा तीन वटै सरकारले बलियो नीति बनाउन नसक्दा नागरिकले समस्या झेलिरहेको बताए ।
‘अहिले सडक सञ्जाल विस्तारका नाममा गाउँगाउँमा रुख काटिएका छन्, हरियाली जंगल सुख्खा बनेका छन्,’ उनी भन्छन्,‘यसले सुविधा हैन नागरिकको ज्यान नै जोखिममा परेको छ, विकासका काम गर्नुभन्दा पहिले त्यसले पार्ने विनाशबारे सबै निकाय चुकिरहेका छन् ।’ उनले सडक निर्माण गर्दा फडानिसँगै वृक्षारोपण गर्नुपर्ने बताए ।
चितवनका एक युवाले शिक्षा स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा बजेट छुट्याइए जस्तै वातावरण संरक्षणमा बजेट किन कम छुट्याइन्छ ? भन्दै प्रश्न गरे । उनले विकासको काम गर्दा तीनै तहको समन्वय जति हुनुपर्ने हो त्यति हुन नसकेको बताए । केन्द्रबाट बजेट पठाउँदा स्थानीय तहले गलत रूपमा प्रयोग गर्न खोज्दा युवाले आवाज उठाउँदा पनि स्थानीय तहले नसुनेको उनको भनाइ छ ।
‘स्थानीयलाई सोध्दा प्रदेश देखाउँछ, प्रदेशले केन्द्रलाई देखाउँछ, केन्द्रले फेरि दोधारे कुरा गर्छ,’उनी भन्छन्,‘ यसो हुँदा देश चाँहि कसले चलाएको छ भन्ने थाहै पाउन सकिएन ।’
काठमाडौंको बुढानिलकण्ठकी नवीना पौडेलले जलवायु परिर्वतन बारे के कस्ता कार्यक्रम छन् र नीति नियम छन् भन्ने विषयमा धेरैजसो युवालाई थाहै नभएको बताएकी छन् । उनले यो विषयमा सवै युवालाई थाहा हुने गरी सम्बन्धित निकायले काम गर्नुपर्ने बताइन् ।
राष्टिय युवा परिषदका कार्यकारी अध्यक्ष सुरेन्द्र बस्नेतले अहिले भइरहेको जलवायु परिवर्तन रोक्ने युवाको महत्वपूर्ण भूमिका रहेको बताए । स्वस्थ भएर बाँच्न पाउनु सबैको अधिकार भएको बताउँदै यसका लागि आवश्यक नीति नियम हुनुपर्नेमा उनले जोड दिए । युवालाई चुनावमा परिचालन मात्र गरेको बताउँदै बस्नेतले महत्वपूर्ण नीति नियमका कार्यमा संलग्नाता नगराएको आरोप लगाए ।
युवाहरूले गुनासो गरेपछि कार्यक्रममा सहभागी सांसदहरू वातावरण संरक्षणको लागि आफूले गरिरहेको कामबारे जानकारी गराउँदै आवश्यक नीति बनाउने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा बोल्दै शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति एंव सांसद अम्मर बहादुर थापाले नीति निर्माण तहमा रहेकाहरूलाई नीति बनाउन युवाहरूले झकझक्याउनुपर्ने बताए । राष्ट्रिय नीति निर्माताबाटै बिग्रएको बताउँदै जलवायु परिवर्तनले युवाको भविष्यका लागि आफूले गर्नुपर्ने काम गर्न तयार रहेको बताए ।
कानुन न्याय तथा मानव अधिकार समिति सदस्य प्रतिक्षा तिवारीले सदनमा जलवायु परिर्वतन र यसले नेपालमा पुर्याएको क्षतिका बारेमा पटक-पटक आवाज उठाइ राखेको बताइन् । कानुनमा मानव अधिकार र वातावरणका विषयमा थुप्रै कुरा समेटेको भन्दै उनले सुधार्नुपर्ने कुरामा बहस गर्न आफू तयार रहेको बताएकी छन् ।
‘अहिले चुरे दहन भइरहेको छ, जसका कारण मधेशले विभिन्न समस्या झेलिरहनुपरेको छ,’ उनी भन्छिन्,‘ मानव र वातावरणमा ठूलो क्षति पर्याइरहेको यो विषयलाई गम्भीर रूपबाट हेरिनुपर्छ ।’
यस्तै, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति एवं सांसद कुसुम थापाले यो विषय युवाको मात्र समस्या नभइ सबैको समस्या भएको बताइन् । जलवायु संकटमा नेपाल जोखिममा रहेको बताउँदै यो विषयमा समितिले आवाज उठाइरहेको बताइन् । टेक्नोलोजीका हिसाबले युवाहरू धेरै अगाडि रहेको बताउँदै उनले कस्तो नीति बनाउँदा फाइदा हुन्छ भन्ने विषयमा छलफल गर्न आफ्नै समितिमा आएर छलफल गर्न युवालाई आग्रह समेत गरेकी छिन् ।
कार्यक्रममा अधिवक्ता दीपक खड्काले नेपालमा कानुनी व्यवस्थाका विषयमा र जलवायु विज्ञ निराजन खड्काले नेपाललगायत विश्वमा भइरहेको जलवायुको असरका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।