कास्की . भैँसीमा पहिलोपटक उन्नत जातको नश्ल सुधारका लागि भारतबाट ल्याइएका मुर्रा राँगाबाट वीर्य संकलन गरी वितरण सुरु भएको छ ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भारत भ्रमणका क्रममा भारतले नेपाललाई उपहारस्वरूप प्रदान गरेको राँगामध्ये सात पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा ल्याइएको थियो ।
यहाँ रहेकामध्ये एक वटाबाट वीर्य संकलन गरेर कृत्रिम गर्भाधानका लागि वितरण गरिएको कार्यालयका प्रमुख पशु विकास अधिकृत डा. जगदिश पाण्डेले जानकारी दिए । बाँकी राँगाबाट वीर्य संकलनका लागि सिकाइएको चरणमा रहेको अबको दुइदेखि तीन महिनामा सबैबाट संकलन हुने उनले बताए ।
प्रमुख पशु विकास अधिकृत पाण्डेले भने, ‘क्वारेन्टिन, उमेर, सिकाइलगायत सबै प्रक्रिया पूरा गरेर मात्र सिमेन संकलन र गुणस्तर परीक्षणपछि मात्र वितरणको काम हुन्छ । अहिले एउटाबाट संकलन भएको तीनदेखि पाँच हजार डोज वितरण गरेका छौँ । बाँकी राँगा ट्रेनिङमा नै छन् ।’
कार्यालयका अनुसार वर्षमा एउटा राँगाबाट २० हजारदेखि ३० हजार डोज सिमेन उत्पादन हुनेछ । हप्तामा सोमबार र बिहीबार वीर्य संकलन हुँदै आएको छ । एक हप्तामा एउटाबाट चार सय डोज जति संकलन हुने कार्यालयका सूचना अधिकारी एवं वरिष्ठ पशु विकास अधिकृत भरतराज गौतमले बताए ।
‘हामीले यहाँ ल्याएर सुरुमा २१ दिन क्वारेन्टिमा राख्यौँ। कतिपयको उमेर पुग्न बाँकी थियो । उमेर पुगेपछि बल्ल संकलन गर्छौँ,’ डा. गौतमले भने, ‘संकलन गर्ने वित्तिकै वितरण गर्न हुँदैन, गुणस्तर परीक्षण गरेर ठीक छ भनेपछि मात्र कृत्रिम गर्भाधानकर्तामार्फत भैँसीको नश्ल सुधार गरिन्छ।’
कार्यालयले संकलित वीर्य आफ्नो वितरण रुटमार्फत जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्थानीय पालिका र कृत्रिम गर्भाधानकर्तामार्फत कृषकलाई उपलब्ध गराउँदै आएको छ ।
राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराको कार्यक्षेत्र रहेका बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३१ जिल्लामा कृत्रिम गर्भाधानका लागि कृषकलाई वितरण गरिने वरिष्ठ पशु विकास अधिकृत डा. गौतमले बताए ।
कृषि तथा पशुपक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्यअनुरुप नेपालको अनुरोधमा भारतले राँगा उपलब्ध गराएको थियो । भैँसीमा पहिलोपटक उन्नत जातको नश्ल सुधारका लागि भारतबाट १५ राँगा ल्याइएको थियो ।
पशु चिकित्सकका अनुसार उच्च नश्लका मुर्रा भैँसीहरूले रैथाने भैँसीभन्दा दोबर परिमाणमा दूध दिन्छन् । सरकारले यहाँका रैथाने भैँसीमा नश्ल सुधार गर्न भारतबाट राँगा ल्याएको हो ।
नेपाल ल्याइएका मुर्रामध्ये सात वटा पोखरा, पाँच वटा लहान र तीन नेपालगञ्जमा राखिएको छ ।