काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा भ्यूटावर नभइ बिजनेस कम्प्लेक्स निर्माण भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।
‘दमकमा एउटा बिजनेस कम्प्लेक्स बनेको छ, त्यसको उचाइ ७२ मिटर छ, ५ बिघा जमिनमा बनेको हो, यो नितान्त भ्यूटावर होइन, बिजनेस कम्प्लेक्स हो, अलिक अग्लो छ, त्यसैले भ्यूटावर भनिँदोरहेछ,’ प्रधानमन्त्री ओलीले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘त्यसको लागत १ अर्ब ७९ करोड ४८ लाख रहेको छ, त्यसको निर्माण सकिसकेपछि विधिवत् सञ्चालन गरिनेछ, त्यसभित्र व्यापारिक अफिसहरू, सेमिनार हल, प्रदर्शनी कक्षहरू रहनेछन्, हालका लागि त्यसलाई झापा ट्रेड सेन्टरका रूपमा बुझ्दा पनि हुन्छ ।’
उक्त कम्प्लेक्सले सयौं वर्षसम्म प्रतिफल दिने प्रधानमन्त्री ओलीले दाबी गरे ।
‘यसले सयौं वर्षसम्म प्रतिफल दिइरहनेछ, यसमा बालुवामा पानी हालेजस्तो गरिएको छैन, यसले आपसापका बजारहरू, स्थानीय जनतालगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै सेवाहरू पुर्याउन सकिन्छ,’ उनले भने ।