काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले दूषित मनसायका साथ आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको बताएका छन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै निर्देशक घिसिङले आफू चर्चामा आउनका लागि मात्र खरेलले उजुरी दिएको उललेख गरेका छन् ।
‘निज खरेलबाट मेराविरुद्ध कुनै एक टेलिभिजनमार्फत निहित स्वार्थका साथ गलत तथा भ्रामक सूचनाको प्रयोगमार्फत कार्यक्रम उत्पादन गरी पटकपटक सम्प्रेषण भइरहेको थियो, पत्रकारिताका सर्वमान्य सिद्धान्त, मूल्यमान्यता र आचारसंहितको ठाडो उल्लंघन तथा सञ्चारमाध्यमै दुरुपयोग गर्दै निज खरेलबाट मेरो र मेरो परिवारका सदस्यहरू (मुख्य रूपमा दाइ र भाइ) को चरित्रहत्या, मानप्रतिष्ठा र छविमा आघात पुर्याउने उद्देश्यले कसैको उक्साहटमा मेरा विरुद्धमा प्रचार भइरहेको थियो र छ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्राधिकरणले हासिल गरेका प्रगति एवम् उपलब्धिबाट अत्तालिएका केही स्वार्थ समूह पहिलेबाटै सक्रिय रहेको र विद्युत महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएकाहरू अहिले आफूलाई थप कमजोर बनाउन र मनोबल गिराउन सुनियोजित रूपमा लागेको घिसिङको भनाइ छ ।
पूर्वडीआईजी खरेलले मंगलबार कुलमानको सम्पत्तिसहित विभिन्न विषयमा अनुसन्धानको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।