१८ वर्षपछि संक्रमणकालीन न्यायमा सहमति हुनु खुसीको विषय : प्रधानमन्त्री ओली

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिप्रक्रिया थालनी भएको १८ वर्षपछि संक्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरूका लागि खुसीको विषय भएको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिका साथ कानुन पारित हुने चरणमा पुगेकाले पारित भएका कानुनलाई कार्यान्वयन गर्न सरकारले यथेष्ट सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिप्रक्रिया थालनी भएको १८ वर्षपछि संक्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरूका लागि खुसीको विषय भएको बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिका साथ कानुन पारित हुने चरणमा पुगेकाले पारित भएका कानुनलाई कार्यान्वयन गर्न सरकारले यथेष्ट सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘हाम्रो देशमा द्वन्द्व थियो, हामीले शान्तिप्रक्रिया अगाडि बढायौँ, यो प्रक्रिया हाम्रो आफ्नै हिसाबको मौलिक (होम ग्रोन) हो । कहिले धिमा गति र कहिले समाधान हुँदै यो प्रक्रिया अगाडि बढेको छ, हामीले दुनियाँका लागि एक नमुनाका रूपमा शान्तिप्रक्रिया अगाडि बढाएका छौँ, द्वन्द्वलाई मूल प्रवाहका साथै द्वन्द्वबाट अलगअलग भएका पक्षहरूलाई उत्थान गर्ने गरी हामी अघि बढेका छौँ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले थपे, ‘नेपालमा शान्ति प्रक्रियाको अन्तिम किस्ताका रूपमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिनसम्बन्धी कानुनलाई लिएका छौँ, राजनीतिक कार्यदल र संसद्को सम्बन्धित समितिबाट पीडितकेन्द्रित हुने गरी सर्वसम्मत पारित भइसकेको छ, यस अर्थमा म खुसी व्यक्त गर्दछु, यो हाम्रो सफलता दुनियाँका लागि उपयोगी हुन सक्नेछन् ।’

Share News