
काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विद्युत बक्यौताको विषय उठान भएपछि सभामुख देवराज घिमिरेले माइकको लाइन काटेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले विद्युतको महसुल भन्ने वित्तिकै उनले माइकको लाइन काटेका हुन् ।
सांसद ढकालले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउनुपर्ने विषय आकस्मिक समयमा राख्न खोज्दा सभामुख घिमिरेले माइकको लाइन काटेका हुन् ।
नेपाल विद्युत् प्राधिकरणलाई केही उद्योगीहरूले डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपयोग गरेको र त्यसको महसुल नतिरेको प्रसंग सांसद ढकालले उठाउन खोजेका थिए । उनले पुरा वाक्य भन्न नपाउँदै सभामुख घिमिरेले बोल्ने माइक काटेका हुन् ।
सभामुखले लाइन काटेपछि रास्वपा र राप्रपाका सांसदहरूले सिटबाट उठेर विरोध गरेका छन् । सभामुख घिमिरेले भने जे कुरा राख्न खोजेको हो त्योभन्दा बाहिर गएकाले लाइन काटेको धारणा राखे । उनले विद्युत वक्यौताको विषयमा बोल्न समय नदिएको बताएका थिए ।
त्यसपछि सभामुख घिमिरेले रास्वपा सभापति रवि लामिछानेलाई बोल्न समय दिए । उनले सांसद हरि ढकालले विद्युत महसुलको विषय उठाउने वित्तिकै सभामुखले माइक काटिदिएको भन्दै उनैलाई बोल्न समय दिन आग्रह गरे ।
त्यसपछि सभामुख घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न समय दिए । लिङ्देनले सांसदहरुले संसदमा जुनसुकै विषय उठाउन सक्ने भन्दै सभामुखले रोक्न नपाउने बताए । संसदमा जुनसुकै विषय उठाउन सांसदलाई सार्वभौम अधिकार रहेको लिङ्देनको भनाइ छ ।
घिमिरेले समय नदिएपछि रास्वपा र राप्रपा सांसदहरु उठेर संसद अवरोध गरिरहे । सभामुखले बस्न आग्रह गर्दा पनि उनीहरु मानेनन् । केहीबेरमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसदहरु पनि उठे ।
सभामुख घिमिरेको आग्रहपछि पनि विरोध गर्न नछोडेपछि अन्ततः घिमिरे माइक जोडेर सांसद ढकाललाई बोल्न आग्रह गरे । त्यसपछि ढकालले आफ्नो धारणा राखेका छन् ।
‘विषय महसुलको नै हो, बिजुली नै हो, बक्यौता तिर्नु पर्नेले तिर्नैपर्छ, जसरी लाइन जोड्नु भनेर प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभयो त्यसरी नै महसुल उठाउनु भनेर निर्देशन दिनुपर्छ, हामीले समितिमा भाग लिँदै गर्दा यो विषयलाई ९ संरचनाले हेरेको रहेछ । सुरुमा २२ अर्ब त्यसपछि १६ र अहिले ६ अर्बमा झर्दा पनि उद्योगी बक्यौता तिर्न तयार छैनन्, उनले प्रश्न गरे, ‘सरकारले यो बक्यौता उठाउनु पर्दैन ?’