यातायात कार्यालय मलंगवाले संकलन गर्‍यो ६ करोड बढी राजस्व

<p>सर्लाही । यातायात व्यवस्था कार्यालय मलंगवाले गत आर्थिक वर्ष २०८०/८१ मा ६ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । गत आवमा यस कार्यालयले ६ करोड ३६ लाख ५८ हजार ९१ रुपैयाँबराबर राजस्व संकलन गरेको कार्यालय प्रमुख राकेशकुमार यादवले जानकारी दिए । उनका अनुसार यस कार्यालयमा भाडाका सवारीबाट आयकरबापत १४ लाख १५ हजार ५ सय [&hellip;]</p>

सर्लाही । यातायात व्यवस्था कार्यालय मलंगवाले गत आर्थिक वर्ष २०८०/८१ मा ६ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।

गत आवमा यस कार्यालयले ६ करोड ३६ लाख ५८ हजार ९१ रुपैयाँबराबर राजस्व संकलन गरेको कार्यालय प्रमुख राकेशकुमार यादवले जानकारी दिए । उनका अनुसार यस कार्यालयमा भाडाका सवारीबाट आयकरबापत १४ लाख १५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै, पटके, रुट परमिटलगायत कारबाहीबाट २ लाख ९२ हजार ८ सय ४०, चालक अनुमतिपत्र र सवारी दर्ता किताब नवीकरणबापत १ करोड ४६ लाख ३८ हजार ३ सय १५ रुपैयाँ संकलन भएको कार्यालय प्रमुख यादवले बताए । सवारीसाधन करबाट ४ करोड ७३ लाख ११ हजार ४ सय ३६ रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको हो ।

कार्यालयले गत आवको चैत मसान्तको एक दिनमा ७० लाख रुपैयाँ बढी राजस्व संकलन गरेको थियो । समयमै सवारी किताब नवीकरण नगरेका तथा सवारी कर नतिरेका सेवाग्राहीलाई मधेस प्रदेश सरकारले जरिवाना रकम मिनाहा गरेको थियो ।

जरिवाना मिनाहासम्बन्धी ढिला गरेर जानकारी पाएका सेवाग्राहीको राति १२ बजेसम्म मलंगवा कार्यालयमा भीड लागेको थियो । उक्त दिन ७० लाख रुपैयाँ बढी राजस्व संकलन गरेको कार्यालय प्रमुख यादवले बताए ।

‘हामीले चैत मसान्तमा एकै दिन ७० लाखसम्म राजस्व संकलन गरेका थियौँ,’ उनले भने, ‘राति १२ बजेसम्म कार्यालयमा बसेर सेवा दिएका थियौँ, जेठ ४ गतेबाट चालक अनुमतिपत्र परीक्षा (ट्रायल) समेत सुरु गरेका छौँ, यसले सेवाग्राहीलाई थप सुविधा पुगेको छभने राजस्व संकलन दायरा फराकिलो भएको छ ।’

विसं २०८० साल मङ्सिर २७ गते स्थापना भई यस कार्यालयले सेवा प्रारम्भ गरेको हो । हरिवन नगरपालिका–३ निवासी रमा कोइरालाले यातायात सेवा कार्यालयको सेवा प्रभावकारी भएको जानकारी दिए ।

यसभन्दा अगाडि यातायातसम्बन्धी सेवाका लागि यहाँका सेवाग्राहीलाई वीरगञ्ज, जनकपुर, बर्दिबाससम्म धाउनुपर्ने बाध्यता थियो ।

Share News