काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विगत आठ वर्षको अवधिमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत चुहावटलाई आधा घटाएको छ ।
आर्थिक वर्ष २०७२/७३मा प्रणालीबाट २५.७८ प्रतिशत भइरहेको विद्युत चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०/८१मा १२ दशमलव ७३ प्रतिशतमा सीमित गरिएको प्राधिकरणले जनाएको छ ।
विद्युत चुहावटमध्ये प्रसारण लाइनतर्फ ३.३३ प्रतिशत र वितरणतर्फ ९.४० प्रतिशत रहेको छ। आठ वर्षअघि २५.७८ प्रतिशत चुहावटमध्ये १९.८० प्रतिशत वितरण र बाँकी प्रसारणतर्फ थियो ।
विद्युत् चुहावटलाई आव २०७३/७४मा २२.९० प्रतिशत, २०७४/७५मा २०. ४५प्रतिशत, २०७५/७६मा १५.३२ प्रतिशत, २०७६/७७मा १५.२७ प्रतिशतमा झारिएको थियो । आव २०७७/७८मा भने चुहावट बढेर १७.१८ प्रतिशत पुगेको थियो । त्यसपछि चुहावटलाई आव २०७८/७९मा १५. ३८ र आव २०७९/८० मा १३.४६ प्रतिशतमा झारिएको थियो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर आठ वर्षको अवधिमा चुहावट नियन्त्रणमा ठूलो सफलता हासिल भएको बताए ।
कार्यकारी निर्देशक घिसिङले लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमले वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव परेको उल्लेख गरे।
‘प्रणालीमा विद्युत् चुहावट हुँदा प्रत्यक्ष रुपमा अरबौं रकम आम्दानी गुमिरहेको थियो, प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रण गर्न सञ्चालन गरिएका अभियानबाट वितरणतर्फको विद्युत चुहावट उल्लेख्य रुपमा घटी यो अनुपात छिमेकी देशहरु भन्दा कम भएको छ’, कार्यकारी निर्देशक घिसिङले भने ।
उनका अनुसार चुहावट नियन्त्रणबाट मात्र यस अवधिमा प्रतिवर्ष करिब १२ अर्व रुपैयाँ थप आम्दानी भएको छ। गुमिरहेको रकम उठाउन सफलता मिल्दा यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको नाफामा देखिएको उनको भनाइ छ ।
उनले थपे, ‘नाफाबाट आर्जन भएको रकमलाई प्रणाली विस्तार र सुधारमा लगानी गरिरहेका छौँ, अब चुहावटलाई एकल अंक (सिङ्गल डिजिट) मा झार्ने लक्ष्य राखी काम अगाडि बढाइरहेका छौँ ।’
आव २०७२र७३मा ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले आव ०७३र७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको थियो । त्यसपछि निरन्तर नाफामा रहेको प्राधिकरणको नाफा गत आवमा १३ अर्ब ३१ करोड रुपैयाँ (अन्तिम लेखापरीक्षण हुन बाँकी) पुगेको छ। आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण गत आवमा ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ।
ठूला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन सञ्चालन, सबस्टेसन क्षमता बृद्धि तथा सुदृढीकरण, कन्डक्टर थप्ने,ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज तथा स्मार्ट मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका कदमले प्राविधिक चुहावट नियन्त्रण भएको हो ।
घिसिङले वितरण तथा ग्राहक सेवाअन्तर्गतका व्यवस्थापक र दिनरात नभनी खटिएका कर्मचारी, गृह प्रशासनलगायत सबैको साथ र सहयोगमा चुहावट घटाउन सफल भएको बताए ।
प्राधिकरणले गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण,महशुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइरहेको छ ।
प्राधिकरणले आफ्ना हरेक वितरण केन्द्रहरुलाई प्रत्येक वर्ष चुहावट नियन्त्रणको लक्ष्य दिई सोहीअनुसार क्रियाकलापहरु सञ्चालन गरिरहेको छ ।